News लिग उपाधितर्फ चर्च ब्वाईज, थ्रीस्टार थप दबाबमा, आर्मीको हार
गोलनेपाल

काठमाडौं । ए डिभिजन लिगमा बढुवा भएको पहिलो सिजन नै चर्च ब्वाईज युनाइटेड लिग उपाधितर्फ अग्रसर देखिएको छ । शनिबार दशरथ रंगशालामा भएको दिनको अन्तिम खेलमा चर्च ब्वाईजले तेस्रो स्थानको टोली जावलाखेल युथ क्लबमाथि ३–० को जित निकाल्यो र शिर्ष स्थानमा पाँच अंकको स्पष्ट अग्रता बनायो ।

पहिलो हाफको अतिरिक्त समयमा अन्जन बिष्टको गोलबाट चर्च ब्वाईजले खेलमा अग्रता बनाएको थियो । त्यो अग्रता पहिलो हाफसम्मा कायम पनि रह्यो । त्यस्तै खेलको अन्तिमतिर ८८ र ९०+२औं मिनटमा आशिष चौधरीले लगातार दुई गोल गर्दै चर्च ब्वाईजको उत्कृष्ट जित पक्का गरे ।

यो नतिजापछि २४ खेलबाट ४४ अंक जोडेको चर्च ब्वाईज शिर्ष स्थानमा यथावत छ । र दोस्रो स्थानको टोली मच्छिन्द्र भन्दा ५ अंकले अगाडी छ । यद्यपि मच्छिन्द्रले एक खेल कम खेलेको छ । उता पराजित जावलाखेल भने ३७ अंकका साथ तेस्रो स्थानमा छ ।

थ्रीस्टारलाई दबाब थपियो, आर्मीको हार

त्यस्तै पछिल्ला खेलहरुमा खराब लयमा देखिएको थ्रीस्टार क्लबले दशरथ रंगशाला मै भएको अर्को खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लबसँग १–१ को बराबरी खेल्दै अंक बाँड्यो । २३औं मिनटमा मणि लामाको गोलबाट एपिएफले अग्रता बनाए पनि ८६औं मिनटमा सुनिल तामाङले थ्रीस्टारका लागि बराबरी गोल फर्काएका थिए । र, टोलीको सम्भावित हार टारेका थिए ।

यद्यपि यो बराबरी नतिजाले थ्रीस्टारमाथि भने थप दबाब थपिएको छ । २४ खेलबाट २८ अंक जोडेको थ्रीस्टार रेलिगेशन क्षेत्रभन्दा दुई स्थानमाथि ११औं स्थान मै यथावत छ । र रेलिगेशन क्षेत्रको टोली फ्रेण्डस भन्दा ३ अंकले अगाडी छ । उता एपिएफ भने ३० अंकका साथ नवौं स्थानमा छ ।

त्यसैगरी शनिबार नै च्यासल स्टेडियममा भएको खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले सातदोबाटो युथ क्लबसँग १–२ को हार बेहोरेको छ । खेलको दोस्रो मिनट मै शिव सुवेदीको गोलबाट सातदोबाटोले खेलमा अग्रता बनाएको थियो ।

तर २९औं मिनटमा नवयुग श्रेष्ठले आर्मीका लागि बराबरी गोल फर्काएका थिए । पहिलो हाफ १–१ को बराबरीमा टुंगिए तापनि दोस्रो हाफको ६३औं मिनटमा दिपेश सिंहले सातदोबाटोका लागि दोस्रो तथा निर्णायक गोल गर्दै टोलीलाई महत्वपूर्ण तीन अंक दिलाएका थिए ।

यो नतिजापछि २४ खेलबाट ३२ अंक जोडेको सातदोबाटो पाँचौं स्थानमा छ । उता पराजित आर्मी भने ३० अंकका साथ सातौं स्थानमा छ ।

Post Comments