News राइनो गोल्डकप शुरु, शेर्पाको शानदार शुरुवात
गोलनेपाल

नवलपुर । सोमबारदेखि शुरु पाँचौं राइनो संरक्षण गोल्डकप नकआउट फुटबल प्रतियोगितामा हिमालयन शेर्पा क्लबले शानदार जितका साथ प्रतियोगिताको शुरुवात गरेको छ ।

मध्यविन्दु–२ कोल्हुवा, नवलपुर स्थित राइनो मिनी स्टेडियममा भएको उद्घाटन खेलमा शेर्पाले बिरगंज युथ एकेडेमीलाई ५–१ को गोल अन्तरले हरायो । शेर्पाका लागि खेल शुरु भएको दशौं मिनटमै त्रिदेव गुरुङले पहिलो गोल गरे ।

२८औं मिनटमा सुरज हमालले शेर्पाको त्यो अग्रता दोब्बर पारे । एकतर्फी जित हात पारेको शेर्पाका लागि ६०औं मिनटमा बिकास राईले तेस्रो गोल गर्दै ७९औं मिनटमा स्टेफन समिरले चौथो गोल गरे ।

त्यसको एक मिनट बित्न नपाउँदै ८०औं मिनटमा मान बहादुर तामाङले पाँचौं गोल गरे । उता पराजित बिरगंजका लागि कृष्ण शाक्यले अन्तिमतिर इन्जुरी समयमा एक मात्र सान्त्वना गोल फर्काए ।

प्रतियोगिता अन्तरगत फागुन ६ गतेको खेल इन्द्रेणी एकिकृत विकास केन्द्र र अभिषेक चर्चबीच हुने आयोजकले जनाएको छ । राइनो क्लब, मध्यविन्दु–४ नवलपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।

 

Post Comments