News चितवन ‘डर्बी’मा भरतपुर च्याम्पियन
गोलनेपाल

कडा प्रतिस्पर्धाका बीच सम्पन्न प्रथम भरतपुर २४ गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि भरतपुर एफसीले जित्न सफल भएको छ । आइतबार सम्पन्न फाइनलमा भरतपुुरले शहरी प्रतिद्वन्द्वी नारायणघाट एफसीलाई १–० को झिनो अन्तरले हराउँदै उपाधि जित्न सफल भएको हो ।

भरतपुर २४, नयाँबस्तीस्थित सिद्धार्थ मा.वि. को खेलमैदानमा सम्पन्न फाइनल खेलमा भरतपुरका लागि सुमन आले मगरले एक मात्र निर्णायक गोल गरे । विजेता बनेको भरतपुरले उपाधिसहित नगद १,०१,१११ रुपैया हात पारेको छ भने उपविजेता बनेको नारायणघाटले ५५,५५५ रुपैयाँमा चित्त बुझाएको छ ।

त्यसैगरी प्रतियोगिता भरि कै उत्कृष्ट खेलाडी भरतपुरका विश्वास उदास घोषित भए । उनले पुरस्कार स्वरुप नगद १५ हजार प्राप्त गरे । त्यस्तै उत्कृष्ट गोलरक्षक भरतपु्र कै अनिष महतो घोषित भए भने उत्कृष्ट डिफेन्डर नारायणघाटका सुदान्स चौधरी घोषित भए । त्यस्तै सर्वाधिक गोलकर्ता नारायणघाटका सुनिल श्रेष्ठ घोषित भए । व्यक्तिगत विधातर्फका सबैले नगद ५–५ हजार हात पारे ।

त्यस्तै प्रतियोगिताकाके उदयीमान खेलाडी आयोजक टोलीका निरन्जन घिसिङ घोषित भए भने अनुशाषित टोलीको पुरस्कार एभरेष्ट एफसीले हात पार्यो । युवा तथा खेलकुद विकास समिति, भरतपुरको आयोजनामा गत बैशाख २२ गतेदेखि शुरु प्रतियोगितामा कुल १६ टोलीहरुको सहभागिता रहेको थियो ।

यसैबीच प्रतियोगिता सफलताका साथ सु–सम्पन्न गर्न सहयोग पुर्याउने विभिन्न संघसंस्था तथा व्यक्तित्वहरुलाई पनि सम्मान गरिएको थियो । प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्नेहरुप्रति युवा तथा खेलकुद विकास समिति, भरतपुरका अध्यक्ष बिदुर थापा मगरले धन्यवाद समेत दिए ।

Post Comments