News थ्रीस्टार सताक्षी गोल्डकपको फाइलनमा
रमेश समदर्शी

झिलझिले । प्रभावशाली जितका साथ रुस्लान थ्रीस्टार क्लब जारी तेस्रो सताक्षी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा थ्रीस्टारले आयोजक सतासीधाम स्पोर्टिङ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

खेलमा सबै गोल दोस्रो हाफमा सम्भव भए । खेलको ५९औँ मिनेटमा अनन्त तामाङले थ्रीस्टारका लागि पहिलो गोल गरे । अनन्तले मिक्चेन तामाङको कर्नर किकमा हेडद्वारा सुन्दर गोल गरे ।

लगतै खेलको ६०औँ मिनेटमा अशोक खवासले थ्रीस्टारका लागि दोस्रो गोल गरे । खवासको लामो प्रहार सतासीधामका गोलरक्षक मनोज प्रधानको हातबाट फुस्किदा गोलमा परिणत हुन पुगेको थियो । थ्रीस्टारका लागि तेस्रो गोल ८२औं मिनटमा कप्तान बिक्रम लामाले गरे ।

उता खेल सकिन दुई मिनेट बाँकी छँदा सतासीधामका शिशिर लेखीलाई पेनाल्टी बक्सभित्र थ्रीस्टारका खेलाडीले लडाएपछि आयोजकले पेनाल्टीको अवसर पाएको थियो । जसलाई पदम भट्टराईले गोलमा परिणत गर्न सफल भएका थिए । यद्यपि टोलीको हार भने टार्न सकेनन् ।

खेलको म्यान अफ द म्याच थ्रीस्टारका अनन्त तामाङ घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार प्राप्त गरे । प्रतियोगिता अन्तरगत फागुन ९ गते शुक्रबारको दोस्रो सेमिफाइनल खेल लिग विजेता मच्छिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।

सतासीधाम स्पोर्टिङ क्लबको आयोजनामा जारी प्रतियोगिताका विजेताले उपाधिसहित नगद ६ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ ।

 

Post Comments