News चर्च ब्वाईज सेमिफाइनलमा प्रवेश
गोलनेपाल

सिरहा । पहिलो हाफमा गरेको तीन गोलको सहयोगमा चर्च ब्वाईज युनाइटेड जारी तेस्रो गोलबजार मेयर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

कडा प्रतिस्पर्धाका बीच भएको क्वाटरफाइनल भिडन्तमा चर्च ब्वाईजले गोलबजार स्पोर्टस क्लबलाई ३–२ ले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

निर्माणाधिन रंगशाला गुरुधाममा भएको खेलमा सानुका सुब्बाले चर्च ब्वाईजका लागि पहिलो गोल गरे भने ३१औं मिनटमा सन्तोष न्यौपानेले त्यो अग्रता दोब्बर पारे । त्यस्तै ३६औं मिनटमा किस्मत लिम्बुले चर्च ब्वाईजका लागि तेस्रो गोल गरे ।

उता पहिलो हाफ कै इन्जुरी समयमा अर्जुन राना मगरले गोलबजारका लागि पहिलो गोल फर्काए भने ६९औं मिनटमा युवराज घिसिङले दोस्रो गोल गरे । यद्यपि टोलीको हार भने टार्न सकेनन् ।

खेलमा चर्च ब्वाईजका मौसम लिम्बु म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ६ हजार प्राप्त गरे । प्रतियोगिता अन्तरगत फागुन ९ गतेको तेस्रो क्वाटरफाइनल खेल आयोजक गोलबजार प्रतिभा संरक्षण क्लब र बागमती युवा क्लब, सर्लाहीबीच हुने आयोजकले जनाएको छ ।

यहि फागुन १४ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ ।

 

Post Comments