News दोस्रो मेयर कप शुरु, वडा नम्बर ८ को शानदार शुरुवात
गोलनेपाल

सुनवल । सुनवल नगरपालिका, नवलपरासीको आयोजनामा दोस्रो मेयर कप अन्तर वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ ।

सुनवल स्थित शहिद स्मृति रंगशालामा भएको उद्घाटन खेलमा वडा नम्बर ८ ले उत्कृष्ट जितका साथ प्रतियोगितामा विजयी शुरुवात गर्यो ।

फागुन १७ गते शुक्रबार भएको उद्घाटन खेलमा वडा नम्बर ८ ले वडा नम्बर ४ लाई ५–१ को फराकिलो अन्तरले हरायो ।

वडा नम्बर ८ को जितमा सन्दिप रानाले दुई गोल गरे भने रेशम राना, सोनम तामाङ र टेक बहादुर गुरुङले थप एक–एक गोल गरे । उता पराजित वडा नम्बर ४ का लागि जिवन थापाले एक मात्र सान्त्वना गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच वडा नम्बर ८ का सन्दिप राना घोषित भए । त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच सुनवल नगरपालिका मेयर भरत थापाले गरेका थिए ।

सुनवल नगरपालिकाको आयोजना तथा राइजिङ स्टार सामुदायिक विकास प्रतिष्ठानको विशेष सहयोगमा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ६० हजार प्राप्त गर्नेछ ।


सुनवलका कुल १३ वडाका टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल यहि फागुन २६ गतेका दिन हुनेछ ।

 

 

Post Comments