News किंग्स कपः भारतसँग लेबनानले लियो बदला, इराक बन्यो विजेता
गोलनेपाल

काठमाडौं (एजेन्सी) । थाइल्याण्डमा सम्पन्न प्रतिष्ठित ४९औं किंग्स कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा लेबनानले भारतसँग यसअघि बेहोरेको लगातार दुई खेलको बदला लिएको थियो ।

थाइल्याण्डको चियाङ माई शहरमा भएको तेस्रो स्थानको प्ले अफ म्याचमा लेबनानले भारतलाई शून्यका विरुद्ध १ गोलले हराउँदै यसै वर्ष सम्पन्न इन्टरकन्टिनेन्टल कप र साफ च्याम्पियनसिपमा बेहोरेको हारको बदला लिन सफल भएको हो ।

स्मरण रहोस, भारत मै भएका दुवै प्रतियोगिता अन्तरगत इन्टरकन्टिनेन्टल कपको फाइनलमा र साफ च्याम्पियनसिपको सेमिफाइनलमा लेबनानले भारतसँग हार बेहोरेको थियो ।

इराक बन्यो च्याम्पियन

त्यस्तै यस वर्षको किंग्स कपको उपाधि इराकले पहिलोपटक जित्न सफल भएको छ । फाइनलमा आयोजक थाइल्याण्डलाई टाईब्रेकरमा हराउँदै इराक च्याम्पियन बनेको हो ।

निर्धारित समयको खेल र थपिएको अतिरित्तः समयको खेल पनि २–२ को रोमाञ्चक बराबरीमा टुंगिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो । टाईब्रेकरमा भने इराकले नतिजा ५–४ ले आफ्नो पक्षमा पार्न सफल भएको थियो ।

Post Comments