News सुनवल मेयर कपः वडा नम्बर ३ लाई सफलता
गोलनेपाल

सुनवल । सुनवल नगरपालिकाको आयोजनामा जारी वडास्तरीय मेयर कप नकआउट फुटबल प्रतियोगितामा वडा नम्बर ३ ले जित निकाल्दै क्वाटरफाइनल प्रवेश गरेको छ ।

सुनवल–१२ स्थित शहिद स्मृति रंगशालामा भएको खेलमा वडा नम्बर ३ ले वडा नम्बर १२ लाई टाइब्रेकरमा ३–१ ले हरायो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ वडा नम्बर ३ का लागि मनुक थापा मगरले गोल गरेका थिए भने वडा नम्बर १२ को तर्फबाट बिनोद केवटले गोल फर्काएका थिए । खेलको म्यान अफ द म्याच भने वडा नम्बर ३ का गोलरक्षक सौगात गुरुङ घोषित भए ।

सुनवल नगरपालिकाको आयोजना तथा राइजिङ स्टार सामुदायिक विकास प्रतिष्ठान भूमही, नवलपरासीको विशेष सहयोगमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ६० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल यहि फागुन २६ गतेका दिन हुनेछ ।

स्थानीय खेलाडीलाई अग्रहरीको प्रोत्साहन

त्यसैगरी सोही अवसरमा सुनवल–१२ भूमही स्थित रोयल स्पोर्टसका सञ्चालक धर्मेन्द्र अग्रहरीले सो खेलमा गोल गोल गरेका दुवै टोलीका खेलाडीलाई प्रोत्साहन स्वरुप एक–एक जोर फुटबल बुट हस्तान्तरण गरेका थिए ।

अग्रहरीका अनुसार घरेलु मैदानमा हुने यस्ता फुटबल प्रतियोगिताहरुमा स्थानीय खेलाडीहरुलाई फुटबलप्रति थप लगावका साथ लाग्न र जिल्ला कै नाम राख्न सकुन् भन्दै प्रोत्साहन स्वरुप उक्त पुरस्कार हस्तान्तरण गरिएको बताए ।

साथै उनले जिल्लामा हुने यस्ता फुटबल प्रतियोगिताहरुमा आफ्नोतर्फबाट गर्नुपर्ने आवश्यक सहयोग गर्न आफू सधै सकरात्मक रुपमा प्रयासरत रहने समेत बताए ।

Post Comments