News 'नौ गोलको थ्रीलर'मा युके एफसीलाई सफलता
गोलनेपाल

बागमती । गोलको बर्षा भएको खेलमा पहुना टोली युके एफसी, दार्जिलिङ जारी चौथो राजर्षि जनक कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बागमती नगरपालिका–११ स्थित सन्तोष स्मृति खेलमैदानमा भएको रोमाञ्चक भिडन्तमा युके एफसीले प्लानिङ ब्वाईज, काठमाडौंलाई ६–३ ले हरायो । खेलको ३८औं मिनटमा सिद्धान्त क्षेत्रीको गोलबाट युकेले खेलमा अग्रता बनाएको थियो ।

दोस्रो हाफतर्फ ५० र ५१औं मिनटमा क्रमश गणेश लिम्बु र प्रशान्त गुरुङले लगातार दुई गोल गर्दै युकेको अग्रता तेब्बर पारेका थिए । यद्यपि ५८औं मिनटमा आशिष श्रेष्ठले प्लानिङका लागि पहिलो गोल गरे भने ६०औं मिनटमा क्रिजल खड्काले दोस्रो गोल फर्काए । लगतै ६५औं मिनटमा सुरेश खत्रीले तेस्रो गोल गर्दै टोलीलाई खेलमा फर्काए ।

तर पनि युके एफसी खेलमा हावी देखियो । युकेका लागि ६८औं मिनटमा शिव रुथले चौथो गोल गर्दा ८१औं मिनटमा बिरेन प्रधानले अर्को गोल थपेका थिए । त्यस्तै युके एफसीको जितमा थप एक गोल भने प्लानिङ ब्वाइजले आत्मघाती गोलका रुपमा खान पुगेको थियो ।

त्यस्तै खेलको अन्तिमतिर प्लानिङका किरन बोहरा तथा युकेका शिव रुथले रातो कार्ड खाँदै मैदान छाडेपछि दुवै टोली दश खेलाडीमा सिमित हुन पुगेको थियो । खेलमा युके एफसीका सिद्धान्त क्षेत्री म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार प्राप्त गरे ।

प्रतियोगिता अन्तरगत फागुन २४ गते शनिबारको खेल नव जनजागृति युवा क्लब, सिमरा र नेपाल पुलिस क्लब, काठमाडौंबीच हुने आयोजकले जनाएको छ ।

बागमती नगरपालिका र बागमती युवा क्लब, सर्लाहीको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल चैत्र २ गते हुनेछ ।

 

Post Comments