News २५औं माडी गोल्डकप यु–१९ राष्ट्रिय फुटबल प्रतियोगिता हुने
गोलनेपाल

माडी । २५औं माडी गोल्डकप यु–१९ राष्ट्रिय फुटबल प्रतियोगिता आउँदो माघ ५ देखि १३ गतेसम्म हुने भएको छ । प्रतियोगिता आयोजनाको २५ वर्ष पूरा भएको अवसर पारी रजत महोत्सवका रुपमा आयोजकले यसपटक राष्ट्रव्यापी यु–१९ फुटबल प्रतियोगिता आयोजना लागेको हो ।

माडी, चितवन स्थित वसन्तपुरको खुला मैदानमा हुने प्रतियोगितामा देशभरिका यु–१९ फुटबल टोलीहरुको सहभागिता रहने आयोजकले जानकारी दियो । ‘सम्पदा सम्पन्न माडी नगर, इको, कृषि, पर्यटन र खेलकुदको शहर’ भन्ने नाराका साथ आयोजना हुने प्रतियोगिताको आवश्यक तयारी पनि शुरु गरिएको आयोजकले जनाएको छ ।

बसन्तपुर युनाइटेड क्लब, माडी–३, चितवनको आयोजना तथा बसन्तपुर बजार व्यवस्थापन समिति, साइड नेपाल क्लब र बसन्तपुर युथ क्लब, माडी–३, चितवनको सह–आयोजनामा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

माडी नगरपालिका, बसन्तपुर, चितवन मुख्य प्रवद्र्धक रहेको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र नव प्रतिभाशाली खेलाडीले जनही नगद १२,५०० पाउने छन् भने स्थानीय सर्वोत्कृष्ट खेलाडीले १५००० पाउने आयोजकले जानकारी दियो ।

त्यस्तै फेयर प्ले टिमलाई १५०००, सर्वाधिक गोलकर्तालाई ७५००, प्रत्येक खेलको म्यान अफ द म्याचलाई ३००० तथा अन्य विधागततर्फका उत्कृष्ट खेलाडीहरुले जनही ५०००–५००० पाउने छन् ।

Post Comments