News हाम्रो इटहरी र बरमियोक फाइनलमा भिड्दै
गोलनेपाल

राजारानी । हाम्रो इटहरी भेट्रान, सुनसरी र बरमियोक–नामफिङ भेट्रान, सिक्किम, भारत यहाँ जारी प्रथम स्व.ज्ञान बहादुर तथा बुद्धिमाया लिम्बु स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण रारा गोल्डकपको फाइनलमा भिड्ने भएका छन् ।

रारा खेलमैदानमा भएको पहिलो सेमिफाइनलमा हाम्रो इटहरीले दुधे भेट्रान, झापालाई शून्यका विरुद्ध ३ गोलले हराउँदै उपाधि नजिक पुगेको हो । हाम्रो इटहरीका लागि सन्तोष राईले दुई गोल गरे भने दिपेन राईले थप एक गोल गरेका थिए ।

खेलमा हाम्रो इटहरीका सन्तोष राई म्यान अफ द म्याच पनि चुनिए । उनले पुरस्कार वापत नगद ५००० र मेडल हात पारे ।

दोस्रो सेमिफाइनलमा बरमियोकले मेघा बिराट भेट्रान, मोरङलाई शून्यका विरुद्ध २ गोलले हरायो । बरमियोकका लागि भुपेन्द्र खेवा र दावा भुटियाले गोल गरे । खेलमा बरमियोकका माइकल लेप्चा म्यान अफ द म्याच चुनिए । उनले पनि पुरस्कार वापत नगद ५००० र मेडल हात पारे ।

प्रतियोगिता अन्तरगत मंसिर १४ गते हुने फाइनलमा हाम्रो इटहरी भेट्रान, सुनसरी र बरमियोक–नामफिङ भेट्रान, सिक्किम उपाधिका लागि भिड्दै छन् ।

रारा भेट्रान, राजारानी, धनकुटाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१,१११ रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको छ ।

Post Comments