News सुदुरपश्चिम–११ सँग एनआरटी स्तब्ध
गोलनेपाल

बागमती । हालै घरमा सम्पन्न खप्तड गोल्डकपको उपाधि जित्दै सनसनी मच्याएको सुदुरपश्चिम–११ स्पोर्टस क्लब सर्लाहीमा जारी चौथो राजर्षि जनक कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको तेस्रो क्वाटरफाइनलमा सुदुरपश्चिम–११ ले न्युरोडटिम (एनआरटी) लाई २–१ ले हराउँदै सेमिफाइनल यात्रा तय गर्न सफल भएको हो । बागमती नगरपालिका–११ स्थित सन्तोष स्मृति खेलमैदानमा भएको खेलको ११औं मिनटमै बिकास लामाको गोलबाट सुदुरपश्चिमले खेलमा अग्रता लिएको थियो ।

तर ४३औं मिनटमा दर्शन गुरुङले गोल गर्दै एनआरटीलाई खेलमा फर्काएका थिए । पहिलो हाफसम्म दुवै टोलीले १–१ को बराबरी खेले तापनि दोस्रो हाफमा सुदुरपश्चिमले फेरि अग्रता बनाउन सफल भएको थियो । ५३औं मिनटमा फिलिप तामाङले सुदुरपश्चिमका लागि दोस्रो गोल गरे । जुन निर्णायक गोल पनि बन्यो ।

निर्णायक गोलकर्ता फिलिप नै खेलको म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी प्राप्त गरे । सुदुरपश्चिमले सेमिफाइनल अन्तरगत फागुन ३० गते विभागीय टोली नेपाल पुलिस क्लबसँग खेल्नेछ ।

प्रतियोगिता अन्तरगत फागुन २७ गतेको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल आयोजक बागमती नगरपालिका (रातो) र कंचनजंगा एफसी, भारतबीच हुने आयोजकले जनाएको छ ।

बागमती नगरपालिका र बागमती युवा क्लब, सर्लाहीको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल आउँदो चैत्र २ गतेका दिन हुनेछ ।

Post Comments