News किरात गोल्डकप शुरु, आयोजकको विजयी सुरुवात
रमेश समदर्शी

फिदिम । पाँचथरको फिदिममा सुरु प्रथम किरात गोल्डकप आमन्त्रण अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा आयोजक पाँचथर एफसीले विजयी सुरुवात गरेको छ ।

फिदिम माविको निर्माणाधीन खेलमैदान शनिबार भएको उद्घाटन खेलमा तेह्रथुमको मितेरी एफसीलाई २-० गोलले पराजित गर्दै आयोजक सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको अन्त्यतिर तनावपूर्ण बनेको खेलमा पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । दोस्रो हाफको १३औँ मिनेटमा आयोजकका शुकराज राईले गोल गर्दै अग्रता दिलाएका थिए ।

खेलको इन्जुरी समयमा पाएको फ्रिकिकमार्फत विशाल भण्डारीले थप गोल गरेपछि आयोजकको अग्रता दोब्बर भएको थियो । उनी म्यान अफ दी म्याच घोषित भए । उनलाई फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्ले र आयोजक क्लबका अध्यक्ष अनुराग मगरले नगद पुरस्कार प्रदान गरे ।

यसैबीच, खेल सकिन करिब १ मिनेट बाँकी रहँदा मितेरीका दुई विदेशी खेलाडीले रातो कार्ड पाएपछि खेल तनावपूर्ण बनेको थियो । स्थिति साम्य बनाउन आयोजक नै सुरक्षाकर्मी लगाउन बाध्य बन्यो ।

विशाल भण्डारीको गोल भएपछि खेल सुचारु गर्ने क्रममा रेफ्री राजु थापामगरमाथि अभद्र व्यवहार भएका कारण ग्लोरीलाई रातो कार्ड देखाइएको थियो । त्यसमै विवाद हुँदा फेरि अर्का विदेशी खेलाडी पेपेले रेफ्रीमाथि अभद्र व्यवहार गरेका कारण रातो कार्ड दिइयो ।

दुई खेलाडीले रातो कार्ड पाएपछि मितेरी एफसीका अफिसियल मैदान प्रवेश गर्दा स्थिति तनावपूर्ण बनेको थियो । मितेरीका खेलाडीले मैदान छाडेर गएपछि रेफ्री मगरले खेल सकिएको सिटी फुकेका थिए ।

भोलि (आइतबार) इलामको रेडहर्ष एफसीले झापाको बिर्तामोड युनाइटेड एफसीसँग दोस्रो क्वाटरफाइनल खेल खेल्नेछ । गोल्डकपको विजेताले नगद ४ लाख ४ हजार ४४४ र आकर्षक ट्रफी पाउने छ ।
 
Post Comments