फिदिम । पाँचथरको फिदिममा सुरु प्रथम किरात गोल्डकप आमन्त्रण अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा आयोजक पाँचथर एफसीले विजयी सुरुवात गरेको छ ।
फिदिम माविको निर्माणाधीन खेलमैदान शनिबार भएको उद्घाटन खेलमा तेह्रथुमको मितेरी एफसीलाई २-० गोलले पराजित गर्दै आयोजक सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेलको अन्त्यतिर तनावपूर्ण बनेको खेलमा पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । दोस्रो हाफको १३औँ मिनेटमा आयोजकका शुकराज राईले गोल गर्दै अग्रता दिलाएका थिए ।
खेलको इन्जुरी समयमा पाएको फ्रिकिकमार्फत विशाल भण्डारीले थप गोल गरेपछि आयोजकको अग्रता दोब्बर भएको थियो । उनी म्यान अफ दी म्याच घोषित भए । उनलाई फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्ले र आयोजक क्लबका अध्यक्ष अनुराग मगरले नगद पुरस्कार प्रदान गरे ।
यसैबीच, खेल सकिन करिब १ मिनेट बाँकी रहँदा मितेरीका दुई विदेशी खेलाडीले रातो कार्ड पाएपछि खेल तनावपूर्ण बनेको थियो । स्थिति साम्य बनाउन आयोजक नै सुरक्षाकर्मी लगाउन बाध्य बन्यो ।
विशाल भण्डारीको गोल भएपछि खेल सुचारु गर्ने क्रममा रेफ्री राजु थापामगरमाथि अभद्र व्यवहार भएका कारण ग्लोरीलाई रातो कार्ड देखाइएको थियो । त्यसमै विवाद हुँदा फेरि अर्का विदेशी खेलाडी पेपेले रेफ्रीमाथि अभद्र व्यवहार गरेका कारण रातो कार्ड दिइयो ।
दुई खेलाडीले रातो कार्ड पाएपछि मितेरी एफसीका अफिसियल मैदान प्रवेश गर्दा स्थिति तनावपूर्ण बनेको थियो । मितेरीका खेलाडीले मैदान छाडेर गएपछि रेफ्री मगरले खेल सकिएको सिटी फुकेका थिए ।
- तुम्बेवा अध्यक्ष कपमा फक्ताङलुङ,कुम्मायक र तुम्बेवा १ क्वाटर फाइनलमा प्रवेश
- उपेन्द्र निर्णायक बन्दा आयोजक कन्याटार सेमिफाइनलमा
- दोस्रो त्रिशाली गोल्डकपको उपाधिका लागि म्याङलुङ स्पोर्टिङ र रेड हर्ष एफसी इलाम भिड्ने
- तेह्रथुमको म्याङलुङ स्पोर्टिङ पॉचथरमा जारी त्रिशाली गोल्डकपको उपाधि नजिक
- पथरी एघार पॉचथरमा जारी त्रिशाली गोल्डकपको सेमिफाइनलमा प्रवेश