News कनकाई महिला गोल्डकपको फाइनलमा
रमेश समदर्शी

झापा । सहज जितका साथ कनकाई नगर खेलकुद विकास समिति झापा जारी सुखानी शहिद स्मृति प्रदेश १ स्तरीय महिला गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको पहिलो सेमिफाइनलमा उपाधिको दाबेदार लेटाङ फुटबल क्लब मोरङलाई २–० गोलले हराउँदै कनकाई उपाधि नजिक पुगेको हो ।

कनकाईको जीतमा खेल शुरु भएको तेस्रो मिनटमै कप्तान लक्ष्मी श्रेष्ठले गोलको खाता खोलेकी थिइन् । बिपक्षी विरुद्ध हावी देखिएको कनकाईका लागि पहिलो हाफकै ११औं मिनेटमा ममता राउतले गोल गर्दै टोलीको जित पक्का गरिन् ।

खेल सुरु भएको ११ मिनेटभित्र २ गोलले पछि परेपछि लेटाङले रणनीति परिवर्तन गरे पनि गोल फर्काउन भने सकेन । दोस्रो हाफमा केही राम्रा मुभ सिर्जना गरे पनि लेटाङको स्कोर निस्केन ।

खेलको वुमन अफ द म्याच कनकाईकी जसोदा लावती घोषित भइन् । उनलाई १ नम्बर प्रदेश सांसद अर्जुन राईले नगद ३ हजार पुरस्कार प्रदान गरे ।

बुधबारको दोस्रो सेमिफाइनल खेल साविक विजेता कर्णसिं सोनम एफसी ताप्लेजुङ र धनकुटा जिल्ला फुटबल संघबीच हुने आयोजकले जनाएको छ ।

महिला फुटबल खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले सुखानी सहिद स्मृति प्रतिष्ठान अर्जुनधारा–९ झापाको आयोजनामा जारी प्रतियोगिता १ नम्बर प्रदेशमै सर्वाधिक धनराशिको हो ।

गोल्डकपमा ९ जिल्लाका १० टिमको सहभागिता रहेको छ । गोल्डकपको विजेताले नगद १ लाख २५ हजार पाउँदा उपविजेताले नगद ७५ हजार पाउनेछ । अन्य विधागत पुरस्कारतर्फ बेस्ट गोलकिपर, बेस्ट डिफेन्स, बेस्ट मिडफिल्डर, बेस्ट फरवार्डले जनही ७ हजार पाउँदा फाइनल खेलको उत्कृष्ट खेलाडीलाई नगद ५ हजार प्रदान गरिनेछ ।

त्यस्तै, फेयर प्ले टिमलाई आयोजकले नगद १० हजार प्रदान गर्नेछ भने वुमन अफ दी टुर्नामेन्ट बन्ने खेलाडीलाई नगद १२ हजार पुरस्कार प्रदान गरिनेछ ।

Post Comments