News प्रतिष्ठित २३औं आहा! रारा पोखरा गोल्डकप माघ दोस्रो सातादेखि
उमेश पुन

पोखरा । मोफसल र राष्ट्रियस्तर मै चर्चित र प्रतिष्ठित बनेको आहा! रारा पोखरा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको २३औं संस्करण आउँदो माघ दोस्रो सातादेखि हुने भएको छ ।

आयोजक सहारा क्लब, पोखराले शुक्रबार एक विज्ञप्ती जारी प्रतियोगिताको २३औं संस्करण माघ दोस्रो सातादेखि शुरु हुने जानकारी गराएको हो । यद्यपि प्रतियोगिताको खेल मितिबारे भने पछि जानकारी गराईने क्लबका महासचिव रामजी प्रसदा अधिकारीले बताए ।

‘खेलकुदकोृ विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने नारा र उद्देश्यका साथ वार्षिक रुपमा आयोजना हुँदै आएको प्रतियोगितामा यसपटक ए डिभिजन, विदेशी, मोफसलसहित सुपर लिग क्लबहरुको पनि सहभागिता रहने आयोजकले जानकारी दियो ।

प्रतियोगिताको माध्यमबाट पोखरालाई स्पोर्टस हब सिटीका रुपमा विकास गरी आन्तरिक र बाह्य पर्यटनको प्रवद्र्धन गर्ने योजनामा समेत रहेको आयोजकले सबैबाट प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न सहयोग र समर्थनको अपेक्षा गरेको समेत विज्ञप्तीमा उल्लेख छ ।

स्मरण रहोस, गत वर्ष सम्पन्न प्रतियोगिताको २२औं संस्करणको उपाधि संकटा क्लबले जितेको थियो । फाइनलमा संकटाले भुटनिज युथ स्पोर्टस क्लब, अमेरिकालाई हराउँदै उपाधि उचाल्न सफल भएको थियो ।

त्यसैगरी आयोजक सहारा क्लबले प्रतियोगिता आयोजनाबाट बचत भएको रकम बिपन्न बाल खेलाडीहरुलाई आश्रय दिई अध्ययनसँगै निःशुल्क फुटबल प्रशिक्षण दिईरहेको सहारा एकेडेमी सञ्चालन खर्चमा प्रयोग गर्दै आएको छ ।

 

 

Post Comments