News राजर्षि जनक कपमा पनि पुलिसलाई सफलता
गोलनेपाल

बागमती । पोखराको १८औं आहा! रारा गोल्डकपतर्फ बुधबार फाइनलमा प्रवेश गरेको नेपाल पुलिस क्लबको अर्को टोलीले सर्लाहीमा जारी चौथो राजर्षि जनक कपमा पनि जित हात पारेको छ ।

बुधबार भएको तेस्रो क्वाटरफायनलमा ब्वाइज युनियन क्लबलाई ३–० ले हराउँदै पुलिसले सेमिफाइनल यात्रा पनि तय गर्न सफल भयो । बागमती नगरपालिका–११ स्थित सन्तोष स्मृति खेलमैदानमा भएको खेलको ४६औं मिनटमा तिर्थ रानाको गोलबाट पुलिसले शुरुवाती अग्रता बनाएको थियो ।

७८औं मिनटमा पदम भट्टराईले पुलिसका लागि दोस्रो गोल गर्दा त्यसको १२ मिनटपछि बिशाल बस्नेतले तेस्रो गोल गर्दै विभागीय टोलीको प्रभावशाली जित पक्का गरेका थिए । खेलमा पुलिस कै पदम भट्टराई म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र एक जोर फुटबल बुट हात पारे ।

पुलिसले सेमिफाइनलमा अब फागुन ३० गतेका दिन सुदुरपश्चिम–११ स्पोर्टस क्लबसँग खेल्नेछ । प्रतियोगिता अन्तरगत फागुन २९ गतेको अन्तिम क्वाटरफाइनल खेल जावलाखेल युथ क्लब र युके एफसी दार्जिलिङबीच हुने आयोजकले जनाएको छ ।

बागमती नगरपालिका र बागमती युवा क्लब, सर्लाहीको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल यहि चैत्र २ गतेका दिन हुनेछ ।

Post Comments