News ताप्लेजुङ र कनकाई उपाधिका लागि भिड्ने
रमेश समदर्शी

झापा । जारी १ नम्बर प्रदेशस्तरीय सुखानी सहिद स्मृति महिला गोल्डकपको फाइनलमा साविक विजेता कर्णसिं सोनम एफसी र कनकाई नगर खेलकुद विकास समिति भिड्ने भएका छन् ।

बुधबार भएको दोस्रो सेमिफाइनलमा धनकुटा जिल्ला फुटबल संघलाई २–० गोलले पराजित गर्दै ताप्लेजुङले कनकाईसँग फाइनल भेट पक्का गरेको हो ।

खेलको १५औँ मिनेटमा सुनकला राईले हेडरमार्फत गोल गर्दै ताप्लेजुङलाई अग्रता दिलाएकी थिइन् । सुनकलाको हेडरलाई क्लियर गर्ने क्रममा धनकुटाकी विनिता लिम्बूबाट हेड फ्लिक भएको थियो ।

रोमाञ्चक खेलमा ताप्लेजुङका लागि ५७औँ मिनेटमा युकी गुरुङले थप गोल गरेर जीत सुनिश्चित गरिन् । धनकुटाकी गोलरक्षक सुस्मिता राईको हातबाट फुत्किएको बललाई युकीले गोलपोस्टको दिशा दिएकी थिइन् ।

खेलको वुमन अफ द म्याच ताप्लेजुङकी सुनकला राई घोषित भइन् । उनलाई १ नम्बर प्रदेश सांसद अर्जुन राई र अर्जुनधारा नगर पशुपक्षी, मत्स्य तथा कछुवा विकास शाखा प्रमुख पदमलाल राईले नगद ३ हजार पुरस्कार प्रदान गरे । त्यस्तै, खेलमा पहिलो गोल गर्ने सुनकलालाई स्थानीय शिवलाल गिरीले नगद एक हजार प्रदान गरे ।

महिला फुटबल खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले सुखानी सहिद स्मृति प्रतिष्ठान अर्जुनधारा–९ झापाको आयोजनामा गरिएको यस प्रतियोगिता १ नम्बर प्रदेशमै सर्वाधिक राशिको हो ।

गोल्डकपमा ९ जिल्लाका १० टिमको सहभागिता रहेको छ । गोल्डकपको विजेताले नगद १ लाख २५ हजार पाउँदा उपविजेताले नगद ७५ हजार पाउनेछ ।

अन्य विधागत पुरस्कारतर्फ बेस्ट गोलकिपर, बेस्ट डिफेन्स, बेस्ट मिडफिल्डर, बेस्ट फरवार्डले जनही ७ हजार पाउँदा फाइनल खेलको उत्कृष्ट खेलाडीलाई नगद ५ हजार प्रदान गरिनेछ ।

त्यस्तै, फेयर प्ले टिमलाई आयोजकले नगद १० हजार प्रदान गर्नेछ भने वुमन अफ दी टुर्नामेन्ट बन्ने खेलाडीलाई नगद १२ हजार पुरस्कार प्रदान गरिनेछ ।

Post Comments