News आदर्शलाई छात्रा फुटबल प्रतियोगिताको उपाधि
गोलनेपाल

बराहक्षेत्र । माउण्ट एभरेष्ट स्र्पोटिङ क्लब, चतरा, सुनसरीको आयोजनामा सम्पन्न भएको अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगिताको उपाधि आदर्श उच्च माविले जितेको छ ।

फाइनलमा बराह राइजिङ स्कुललाई १–२ ले हराउँदै आदर्श च्याम्पियन बनेको हो । आदर्शको जितमा श्रद्धा राई र प्रमिला श्रेष्ठले गोल गरिन् । पराजित बराह राइजिङका लागि कविता तामाङले गोल गरेकी थिईन् ।

विजेता बनेको आदर्शले उपाधिसहित नगद २० हजार हात पार्यो भने उपविजेता बराह राइजिङले नगद १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । फाइनल खेलको प्लेयर अफ द म्याच आदर्शकी प्रमिला राई चुनिईन् । उनले त्यसवापत नगद ५०० र ट्रफी हात पारिन् ।

अन्य विधातर्फ उत्कृष्ट गोलरक्षक आदर्श कै अनु राई घोषित भईन् । उत्कृष्ट डिफेन्डर पनि आदर्श कै दिया श्रेष्ठ बनिन् । उत्कृष्ट मिडफिल्डर आदर्श कै सुस्मिता राई बन्दा उत्कृष्ट प्रशिक्षक आदर्शका किरण श्रेष्ठ बने ।

प्रतियोगिताभरि कुल १५ गोल गरेकी बराह राइजिङकी कविता तामाङ सर्वाधिक गोलकर्तासँगै सर्वोत्कृष्ट खेलाडी बनिन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही १५००–१५०० हात पारे भने सर्वोत्कृष्ट खेलाडीले ३००० सहित ट्रफी प्राप्त गरे ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमकी प्रमुख अतिथी कोशी प्रदेश सभा सदस्य ममता तामाङ लगायतले पुरस्कृत गरेका थिए ।

 

Post Comments