News पुलिस, सुन्दरबजार र बेसीशहर क्वाटरफाइनलमा
गोलनेपाल

बेसीशहर । नेपाल पुलिस क्लब, सुन्दरबजार फुटबल क्लब र बेसीशहर युथ सोसाईटी यहाँ जारी ३१औं त्रिवेणी कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

त्रिवेणी रंगशालामा भएको पहिलो खेलमा पुलिसले चामे युवा समाज, मनाङलाई शून्यका विरुद्ध २ गोलले हरायो । पुलिसका लागि प्रविन थापाले एक गोल गरे भने थप एक गोल विपक्षी टोलीका अकिन्सले आत्मघाती गोल गरेका थिए ।

त्यस्तै दोस्रो खेलमा सुन्दरबजारले मस्र्याङ्दी युथ क्लब, लमजुङलाई ३–१ ले हरायो । सुन्दरबजारको जितमा एरोन थापाले ह्याट्रिक गरे । उता पराजित मस्र्याङ्दीका लागि सर्जे संगले एक मात्र गोल फर्काएका थिए ।

दिनको तेस्रो खेलमा बेसीशहर युथ सोसाईटीले बेसीशहर नगरपालिकामाथि ६–१ को फराकिलो जित दर्ता गर्यो । बेसीशहर युथका लागि सुरेश कुमाल र सन्त बहादुर गुरुङ्गले २–२ गोल गरे । त्यस्तै स्टेफन बिनोङ र आशिष चौधरीले थप एक–एक गोल गरे । उता पराजित बेसीशहर नगरपालिकाका लागि अशोक थापाले एक मात्र गोल फर्काएका थिए ।

त्रिवेणी युवा क्लब, बेसीशहर, लमजुङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही पुस २१ गतेका दिन हुनेछ ।

Post Comments