News लालीगुराँस, लङ्दीदेवी र एलजी त्रिवेणी कपको क्वाटरफाइनलमा
गोलनेपाल

बेसीशहर । लालीगुराँस युथ क्लब, भुजुङ, लङ्दीदेवी फुटबल क्लब, नाल्मा र एलजी एसोसिएशन, पोखरा यहाँ जारी ३१औं त्रिवेणी कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

त्रिवेणी रंगशालामा भएको दिनको पहिलो खेलमा लालीगुराँसले दुईपल्टको विजेता सामना युथ क्लब, तनहुँलाई शून्यका विरुद्ध २ गोलले हरायो । लालीगराँसका लागि निरज चौधरी र डिजज्डेले एक–एक गोल गरे । लालीगुराँसले क्वाटरफाइनलमा त्रिभुवन आर्मीको सामना गर्नेछ ।

त्यस्तै दोस्रो खेलमा लङ्दीदेवीले ठाडाराई अधिकारी समाज, दिहीथोकलाई शून्यका विरुद्ध १ गोलले हरायो । लङ्दीदेवीका लागि अन्जल महर्जनले एक मात्र निर्णायक गोल गरे । लङ्दीदेवीले क्वाटरफाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग खेल्नेछ ।

दिनको अन्तिम खेलमा एलजी एसोसिएशनले साविक विजेता रड्स रामपुर, चितवनलाई २–१ ले स्तब्ध पार्यो । एलजीका लागि सरोज तितुङले पहिलो गोल गरे भने दोस्रो गोल मनोज गुरुङले पेनाल्टी मार्फत गरेका थिए ।

उता रड्स रामपुरका लागि एक मात्र गोल बिकी चाम्लिङ राईले गरेका थिए । खेलमा विपक्षीका राम शाहीले ह्याण्डबल गरेपछि शाहीले सोझै कार्ड खाँदै मैदान छाडेका थिए भने एलजीले पेनाल्टीको अवसर पाएको थियो । सोही पेनाल्टीलाई एलजीका मनोज गुरुङले गोलमा परिणत गर्दै निर्णायक गोल गरेका थिए ।

प्रतियोगिता अन्तर्गत पुस १८ गते बुधबार दुई क्वाटरफाइनल खेलहरु हुनेछन् । पहिलो क्वाटरफाइनलमा सुन्दरबजार एफसी, लमजुङले अभिषेक चर्च, रजहरको सामना गर्नेछ भने दोस्रो क्वाटरफाइनलमा नेपाल पुलिस क्लब र लङ्दीदेवी एफसी, नाल्मा भिड्ने छन् ।

Post Comments