News डोनाको निर्णायक गोलसँगै विश्व शान्ति फाइनलमा
सुरज राना मगर

अस्नैया । विश्व शान्ति युवा क्लब, सालझण्डी यहाँ जारी तेस्रो रुद्रपुर कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलतर्फ विश्व शान्तिले राजेश आस्था फाण्डेशन, कपिलवस्तुलाई शून्यका विरुद्ध १ गोलले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो ।

कञ्चन–४, स्थित रुद्रपुर माविको खेलमैदानमा भएको खेलमा विश्व शान्तिका लागि डोना थापाले पेनाल्टीबाट गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो । खेलमा म्यान अफ द म्याच भने विश्व शान्ति कै मिलन क्षेत्री घोषित भए ।

प्रतियोगिता अन्तर्गत पुस २९ गते आइतबारको दोस्रो सेमिफाइनल खेल सुनौलो संगम, कञ्चन–३ र मुर्गिया फुटबल क्लब, सैनामैना–४ बीच हुने खेल संयोजक दृष्टि राना मगरले जानकारी दिए ।

रुद्रपुर युवा क्लब, कञ्चन–४, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने माघ २ गतेका दिन हुनेछ ।

Post Comments