News आम्तेक–११ र देउराली फाइनलमा भिड्ने
गोलनेपाल

च्याङ्ग्रे । आम्तेक–११ र देउराली फुटबल क्लब यहाँ जारी प्रथम पौवादुङ्मा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् ।

सोमबार सम्पन्न पहिलो सेमिफाइनलमा आम्तेकले अरुण गाउँपालिकालाई टाईब्रेकरमा हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ आम्तेकका लागि रोशन भुजेलले गोल गरे भने अरुण गाउँपालिकाका लागि असन राईले गोल गरेका थिए ।

निर्धारित समय मै अरुण गाउँपालिकाले खेल जित्ने अवसर पनि थियो । तर, रोमन भुजेलले पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्न नसक्दा टोली टाईब्रेकरमा निराश बन्न पुग्यो ।

टाईब्रेकरमा आम्तेकले अरुण गाउँपालिकामाथि ४–३ को जित निकाल्दै फाइनल स्थान सुरक्षित गर्यो । खेलमा आम्तेकका गोलरक्षक असिब राई म्यान अफ द म्याच चुनिए ।

त्यस्तै दोस्रो सेमिफाइनलमा देउरालीले घरेलु टोली पौवादुङ्मा गाउँपालिकालाई शून्यका विरुद्ध १ गोलले हराउँदै फाइनलमा प्रवेश गर्यो । देउरालीका लागि मिलन लिम्बुले एक मात्र निर्णायक गोल गरे । खेलमा म्यान अफ द म्याच भने देउराली कै गोलरक्षक चरी लिम्बु घोषित भए ।

फाइनल खेल यही माघ ९ गते मंगलबारका दिन आम्तेक–११ र देउराली एफसीबीच हुने आयोजकले जानकारी दियो । पौवादुङमा गाउँपालिका, च्याङ्ग्रे मूल आयोजक समितिको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ ।

Post Comments