News सिरहाको सल्हेश लहान गोल्डकपको सेमिफाइनलमा
रमेश समदर्शी

सिरहाको सल्हेश युवा क्लब सडन डेथमा भाग्यमानी बन्दै यहाँ जारी दोस्रो लहान मेयर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पशुपति आदर्श माविको खेलमैदानमा आज भएको तेस्रो क्वाटरफाइनल खेलमा धरानको मित्र मिलन क्लबलाई सडन डेथमा ८-७ गोलअन्तरले पाखा लगाउँदै सिरहाले अन्तिम चारमा स्थान बनाएको हो । निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेका थिए । प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता सिरहाले बनाएको थियो । उसका लागि फ्रिकिकमा सुनिल खड्काले खेलको ५४औँ मिनेटमा गोल गरेका थिए । १-० गोलले पछि परेको अवस्थामा धरान खेलमा फर्किन ८३औँ मिनेट पर्खिनु परेको थियो । जसमा दोर्जे तामाङ गोल गर्न सफल भएका थिए । धरान खेलमा फर्किए पनि नतिजा आफ्नो पक्षमा पार्न भने सकेन । यसअघि पहिलो हाफमै पाएको पेनाल्टीमा भने दोर्जे तामाङको प्रहार गोलपोस्टमा लाग्दै भित्रिँदा अग्रता बनाउन असफल भएको थियो ।

दुवै टोलीले गोलको अवसर सिर्जना गरे पनि स्कोर भने गर्न सकेका थिएनन् । खेल बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि समान ४-४ गोलको बराबरी भएपछि खेलको छिनोफानो सडन डेथबाट लिइएको हो । जसमा धरानका लागि रोमन लिम्बू, दोर्जे तामाङ, विवेक राई, विनोद राई, रिवस मास्के, सचिन श्रेष्ठ र एन्सन राईको प्रहारमात्र गोलमा परिणत भएको थियो । धरानका भुवन बस्नेतको प्रहार सिरहाका गोलरक्षक सागर मगरले रोक्दा टिप्सन राईको प्रहार बाहिरिएको थियो । सिरहाका लागि अमन लामा, सुनिल खड्का अबायोमी, असन राई, बुद्ध चेम्जोङ, फोफोना, प्रवेश दनुवार र पेपेको प्रहार गोलमा परिणत हुँदा अशोक खवासको प्रहार बाहिरिएको थियो ।

खेलको म्यान अफ दी म्याच सिरहाका गोलरक्षक सागर मगर भए । उनले नगद ३ हजार पाए । भोलि (शुक्रबार) काठमाडौँको रियल एफसीले धनकुटा एफसीसँग अन्तिम क्वाटरफाइनल खेल्नेछ । हिम कस्तुरी युवा क्लबको आयोजना तथा लहान नगरपालिकाको प्रायोजनमा फागुन १ गते हुने फाइनल खेलको विजेताले नगद ३ लाख र उपविजेताले नगद १ लाख ५० हजार पाउने छ ।

Post Comments