News डिफेन्डिङ च्याम्पियन बिरगंज उपाधि नजिक
रमेश समदर्शी

लहान । साविक विजेता विरगञ्ज युनाइटेड यहाँ जारी दोस्रो लहान मेयर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पशुपति आदर्श माविको खेलमैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा आयोजक हिम कस्तुरी युवा क्लब लहानलाई ३-१ गोलअन्तरमा पराजित गर्दै विरगञ्ज दोस्रो पटक फाइनलमा प्रवेश गरेको हो ।

विरगञ्जले १-० गोलले पछि परेको अवस्थालाई उल्टाएर उपाधिमाथि दाबेदारी प्रस्तुत गरेको हो । आयोजकलाई घरेलु मैदानमा स्तब्ध बनाउन विरगञ्जका श्रीजन गौतमले २ गोल र अनिल रानामगरले एक गोल गरेका हुन् ।

सुरुवाती गोल आयोजकका लागि शिरि लेखीले गरेका थिए । खेलको १४औँ मिनेटमा करिब ३० यार्डबाट शिशिरले प्रहार गरेको बलले विरगञ्जको जाली चुमेको थियो ।

उत्कृष्ट पुनरागमन गर्न श्रीजन गौतमले ७२औँ र ८९औँ मिनेटमा सम्झनलायक गोल गरेका थिए । यसबीचमा अनिल रानामगरले खेलको ८०औँ मिनेटमा गोल गरेका हुन् ।

खेलको म्यान अफ दी म्याच विरगञ्जका दुई गोलकर्ता श्रीजन गौतम भए । उनले नगद ३ हजार र ट्रफी पाए । भोलि (आइतबार) धनकुटा फुटबल क्लबले सिरहाको सल्हेश युवा क्लबसँग अन्तिम सेमिफाइनल खेल खेल्नेछ ।

Post Comments