News सल्हेश युवा क्लब लहान मेयर गोल्डकपको फाइनलमा
रमेश समदर्शी

सिरहाको सल्हेश युवा क्लब यहाँ जारी दोस्रो लहान मेयर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

धनकुटा एफसीलाई स्तब्ध पार्दै सिरहा उपाधि होडमा उक्लिएको हो । पशुपति आदर्श माविको खेलमैदानमा आज भएको अन्तिम सेमिफाइनल खेलमा धनकुटालाई ४-२ गोलअन्तरमा पराजित गर्दै सिरहाले कम्तिमा १ लाख ५० हजार सुरक्षित गरेको छ । सुरुवाती अग्रता धनकुटाले लिएको थियो । तर, सिरहाले १-० गोलले पछि परेको स्थितिलाई उल्टाउँदै फाइनलमा साविक विजेता विरगञ्ज युनाइटेडसँग भेट पक्का गरेको छ ।

धनकुटाका मनिष राईले खेलको २४औँ मिनेटमा सुरुवाती गोल गरेका थिए । तर, ३३औँ मिनेटमा सिरहाका सुनिल खड्काले गोल गर्दै बराबरीमा ल्याइपुराएका हुन् । सिरहाका सुनिल खड्काले यस खेलमा ह्याट्रिक पूरा पनि गरे । उनले खेलको ४१औँ र ६९औँ मिनेटमा ह्याट्रिक पूरा गरेका हुन् । यसबीचमा सिरहाका लागि विदेशी खेलाडी अबायोमीले खेलको ५३औँ मिनेटमा गोल गरेर ४-१ गोलको फराकिलो अन्तर निकालेका थिए ।

यसैबीच, धनकुटा आकाश राईले गोल गरेर खेलमा फर्किने प्रयास गरेका थिए । खेलको ८०औँ मिनेटमा आकाशको गोलसँगै नतिजा ४-२ मा झरेको थियो । तर, बाँकी समय सिरहाले आफ्नो पक्षमा पार्दा पाहुना टोली धनकुटा सेमिफाइनलबाट घर फर्कियो । खेलको म्यान अफ दी म्याच ह्याट्रिककर्ता सिरहाका सुनिल खड्का भए । उनलाई नगद ३ हजार र ट्रफी प्रदान गरियो ।

फाइनल खेल फागुन १ गते हुनेछ । लहानको हिम कस्तुरी युवा क्लबको आयोजना तथा लहान नगरपालिकाले प्रायोजन गरेको गोल्डकपको विजेताले नगद ३ लाख र आकर्षक ट्रफी पाउने छ भने विधागत पुरस्कारतर्फ जनही ५-५ हजार र सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार पाउने छ ।

Post Comments