News विरगञ्ज युनाइटेडलाई लहान मेयर गोल्डकपको उपाधि
रमेश समदर्शी

दोस्रो लहान मेयर गोल्डकपको उपाधि विरगञ्ज युनाइटेडले जितेको छ ।

विरगञ्जले लगातार दोस्रो पटक उपाधि रक्षा गरेको हो । पशुपति आदर्श माविको खेलमैदानमा आज भएको फाइनल खेलमा सिरहाको सल्हेश युवा क्लबलाई टाइब्रेकरमा रोक्दै विरगञ्जले उपाधिसँगै नगद ३ लाख र आकर्षक ट्रफी पायो ।

निर्धारित ९० मिनेटको समयमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेका थिए । विरगञ्जका अजित चौधरीले खेलको १३औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर, विरगञ्जले गोलको खुसी साट्न नपाउँदै १५औँ मिनेटमा सिरहाका अबयोमीले गोल फर्काएर बराबरी गरेका थिए । यसैबीच, खेलको ६२औँ मिनेटमा विरगञ्जका सञ्जय चौधरीले दोहोरो पहेँलो कार्डपछि रेड कार्ड पाएर मैदान छाड्न बाध्य भए ।

१० खेलाडीमा सीमित विरगञ्जले रक्षात्मक रणनीति अपनाएर सिरहालाई थप गोल गर्न दिएन । दुवै टोलीले गरेको गोलको प्रयास खेर गएको थियो । टाब्रेकरमा विरगञ्ज ३-१ गोलले विजयी बन्यो । विरगञ्जका लागि श्याम चौधरी, रञ्जय चौधरी र कृपा चौधरीको प्रहार गोलमा परिणत हुँदा सागर चौधरीको प्रहार सिरहाका गोलरक्षक सागर मगरले रोकेका थिए । यस्तै, सिरहाका सेबेको प्रहारमात्र गोलमा परिणत भएको थियो भने सुनिल खड्काको प्रहार विरगञ्जका गोलरक्षक दिलमणि चौधरीले बचाएका थिए । कप्तान अमन लामा र अबयोमीको प्रहार बाहिरिएको थियो । खेलको म्यान अफ दी म्याच विरगञ्जका विकास चौधरी भए । उनले नगद ३ हजार पाए ।

विरगञ्जका अजित चौधरी बेस्ट मिडफिल्डर, सागर चौधरी बेस्ट फरवार्ड, दिलमणि चौधरी बेस्ट गोलकिपर घोषित भए । यस्तै, सिरहाका प्रवेश दनुवार बेस्ट डिफेन्स र सुनिल खड्का सर्वाधि गोलकर्ता बने । उनीहरुले जनही नगद ५-५ हजार पाए ।

सिरहाकाकप्तान अमन लामा गोल्डकपकै उत्कृष्ट खेलाडी बन्दा आयोजक हिम कस्तुरी युवा क्लबका राधेश्याम चौधरी उदीयमान खेलाडी बने । उनले पनि नगद ५ हजार पाए । दोस्रो संस्करणको विजेता विरगञ्जले नगद ३ लाख पाउँदा उपविजेता सिरहाले नगद १ लाख ५० हजारमा चित्त बुझाएको छ । गोल्डकप सञ्चालनका लागि लहान नगरपालिकाले प्रायोजन गरेको थियो ।

Post Comments