News सुर्यनगरको च्याम्पियन बन्यो राईट लेन बागमती
सुरज राना मगर

बर्दघाट । यहाँ सम्पन्न आठौं सुर्यनगर गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको उपाधि राईट लेन एजुकेसन बागमती युवा क्लब, सर्लाहीले जितेको छ । फाइनलमा विभागीय टोली नेपाल पुलिस क्लब, काठमाडौंलाई शून्यका विरुद्ध १ गोलले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।

बुर्दघाट–१६ स्थित सुर्यनगर रंगशालामा भएको रोमाञ्चक फाइनल भिडन्तमा बागमतीका लागि अभि लामाले गरेको एक मात्र गोल टोलीलाई उपाधि जिताउन निर्णायक गोल बन्यो ।

जिल्ला बाहिर पुगेर पनि उपाधि उचालेपछि क्लबलाई निरन्तर क्रियाशील राख्न अहोरात्र खटिने बागमती क्लबका दुई पात्र महासचिव सागर मैनाली र सचिव कुमार प्रधान पनि पनि खुशी र उत्साहित देखिए । मोफसलमा रहेर पनि आफ्नो फरक, विशेष र सफल पहिचान बनाउँदै उपाधि जित्न सफल भएको यो क्षण अविस्मरणीय रहेको दुवैको प्रतिक्रिया थियो ।

विजेता बनेको बागमतीले उपाधिसहित नगद ५ लाख हात पार्यो भने उपविजेता पुलिसले ३ लाखमा चित्त बुझाउन बाध्य बन्यो । विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी बर्दघाट नगरपालिका, नवलपरासीका नगर प्रमुख शम्भुलाल श्रेष्ठ, बर्दघाट–१६ का वार्ड अध्यक्ष भिमकाजी गुरुङ लगायतले पुरस्कृत गरेका थिए ।

श्री नव युवा क्लब, बर्दघाट–१६, सुर्यनगर, नवलपरासीको आयोजनामा गत माघ २९ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल आठ टोलीहरुले सहभागिता जनाएका थिए ।

 

Post Comments