News दिलिप राणा स्मृति भेट्रान कप: सेमिफाइनल पुग्ने तीन टोलीको टुंगो लाग्यो
गोलनेपाल

भरतपुर । यहाँ जारी स्व दीलिप राणा स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कपमा सेमिफाइनल पुग्ने तीन टोलीको टुङ्गो लागेको छ ।

बिहीबारक्वाटरफाइनलका तीन खेल सम्पन्न भएका हुन् । बिहीबार  सम्पन्न खेलहरुमा जित हात पार्दै चाबेल भेट्रान, एनआरटी एफसी भेट्रान र डिफेन्डिङ च्याम्पियन फ्रीडम फाइटर भेट्रान सेमिफाइनलमा प्रवेश गरेका छन् ।

पहिलो खेलमा चाबेलले आयोजक चितवन भेट्रान निलोलाई ३-१ ले हरायो । चाबेलको जितमा कप्ताम पासाङ शेर्पा र उज्वल श्रेष्ठले गोल गरे । चितवनले एक उपहार गोल पाएको थियो । चाबेलका कप्तान शेर्पा म्यान अफ दि म्याच भए ।

दोस्रो खेलमा थापागाउँ सुधार समितिलाई पराजित गर्दै एनआरटी एफसी भेट्रान प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतिस्पर्धात्मक खेलमा एनआरटी १-० ले विजयी भयो । उसको जितमा कप्ताम नरेन्द्रमान श्रेष्ठले निर्णायक गोल गरे । नरेन्द्र म्यान अफ दि म्याच भए ।

तेस्रो खेलमा डिफेन्डिङ च्याम्पियन फ्रीडम फाइटर विजयी भयो । फ्रीडम फाइटरले ठमेल ११ लाई सडन डेथमा पाखा लगायो । निर्धारित समय एक-एक गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि दुई-दुई भएपछि सडन डेथमा फ्रीडम फाइटर विजयी भयो ।

त्यसअघि निर्धारित समयमा खेलको पहिलो हाफको अन्तिम समयमा कन्यासुब्बा गुरुङले गोल गर्दै फ्रीडम फाइटरलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा ठमेलले पेनाल्टी पाएको थियो । प्राप्त अवसरलाई सदुपयोग गर्दै प्रकाश रानाले बराबरी गोल फर्काए । फ्रीडम फाइटरका कन्यासुब्बा गुरुङ म्यान अफ दि म्याच भए ।

तस्तै अभिषेक चर्च रजहर र भनिमण्डल्न भेट्रान काठमाडौंबीचको चौथो क्वाटरफाइनल खेल भने वर्षाका कारण स्थगित भयो । असिनासहितको वर्षापछि खेल शुक्रबार बिहान खेलाउने गरि स्थगित गरिएको हो । उक्त खेलपछि सेमिफाइनल समीकरण पूरा हुनेछ ।

यो खेलको विजेताले शुक्रबार नै फाइनल प्रवेशका लागि एनआरटीको सामना गर्नेछ । उक्त खेल दिउँसो ४ बजे हुनेछ । त्यसअघि दिउँसो २ बजे पहिलो सेमिफाइनलमा चाबेल र फ्रीडम फाइटर भिड्नेछन् । फाइनल खेल शनिबार हुनेछ । प्रतियोगिताको विजेताले ट्रफीसहित एक लाख तथा उपविजेताले ७५ हजार प्राप्त गर्नेछ ।

Post Comments