News डोना एफए सेमिफाइनलमा
सुरज राना मगर

दियोबजार । डोना फुटबल एकेडेमी, सितलापुर यहाँ जारी कञ्चन कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको दोस्रो क्वाटरफाइनलतर्फ डोना एफएले फोर ब्रदर्श फुटबल क्लब, नवलपरासीलाई २–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

कञ्चन–४, दियोबजार स्थित स्थानीय खेलमैदानमा भएको खेलको १५औं मिनटमा डोना थापाको गोलबाट डोना एफएले खेलमा अग्रता बनाएको थियो । यद्यपि २६औं मिनटमा सोङले फोर ब्रदर्शका लागि बराबरी गोल फर्काए । तर खेलको इन्जुरी समयमा एरोन थापाले निर्णायक गोल गर्दै डोना एफएको जित पक्का गरे ।

खेलमा निर्णायक गोल गरेका एरोन थापा खेलको म्यान अफ द म्याच समेत चुनिए । प्रतियोगिता अन्तर्गत फागुन २० गते आइतबारको तेस्रो क्वाटरफाइनल खेल आयोजक कञ्चन–११ र देवदह ब्वाईज, दवदह बीच हुने आयोजकले जानकारी दियो ।

हिमालय सामुदायिक विकास केन्द्र, कञ्चन–४, दियोबजारको आयोजना र कञ्चन गाउँपालिकाको संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख २५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख १५ हजार प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष प्रकाश थापाले बताए । फाइनल यही २५ गतेका दिन हुनेछ ।

Post Comments