News कञ्चन–११ सेमिफाइनलमा
सुरज राना मगर

दियोबजार । उत्कृष्ट जितका साथ घरेलु टोली कञ्चन–११ यहाँ जारी कञ्चन कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । कञ्चन गाउँपालिका–४, दियोबजार स्थित स्थानीय खेलमैदानमा भएको तेस्रो क्वाटरफाइनलमा कञ्चनले देवदह ब्वाईज, देवदहलाई शून्यका विरुद्ध ३ गोलले हरायो ।

खेलमा कञ्चनका अमर डंगोल म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत फागुन २१ गते सोमबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल फुलबारी गाईज, बुटवल र भैरव स्पोर्टस क्लब, नवलपरासी बीच हुने खेल संयोजक शंकर थापाले जानकारी दिए ।

हिमालय सामुदायिक विकास केन्द्र, कञ्चन–४, दियोबजारको आयोजना र कञ्चन गाउँपालिकाको संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख २५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख १५ हजार प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष प्रकाश थापाले बताए । फाइनल यही २५ गतेका दिन हुनेछ ।

Post Comments