News फर्साटिकर सेमिफाइनलमा
सुरज राना मगर

करौजिया । फर्साटिकर युवा क्लब, फर्साटिकर यहाँ जारी स्व. खगी गुरुङसेनी स्मृति छैठौं न्यु सृजना कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा फर्साटिकरले माछापुच्छ्रे क्लब, पक्लिहवालाई ४–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

तिलोत्तमा–१३, करौजिया स्थित आयोजक क्लबको खेलमैदानमा भएको खेलमा फर्साटिकरका लागि मिलन क्षेत्रीले दुई गोल गरे । त्यस्तै आशिष राना र कृष्ण रानाले थप एक–एक गोल गरे । पराजित माछापुच्छ्रेका लागि भने लस्सो लामाले एक मात्र सान्त्वना गोल फर्काए ।

खेलमा फर्साटिकरका लागि दुई गोल गरेका मिलन क्षेत्री म्यान अफ द म्याच घोषित भए । अब फर्साटिकरले फागुन २३ गतेका दिन हुने दोस्रो सेमिफाइनलमा झरना स्पोर्टस क्लब, कुन्जलापुरको सामना गर्नेछ । प्रतियोगिता अन्तर्गत फागुन २२ गते मंगलबारको पहिलो सेमिफाइनल खेल तिलोत्तमा–११, तिलोत्तमा र समपुर्ण युवा क्लब, सुपौली बीच हुने खेल संयोजक शेर गुरुङले जानकारी दिए ।

न्यु सृजना युवा क्लब, तिलोत्तमा–१३, करौजियाको आयोजना तथा वरिष्ठ समाजसेवी क्या. नरजंग गुरुङको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १६ हजार हात पार्नेछ भने उपविजेताले ६० हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सोबित दर्लामीले जानकारी दिए । फाइनल खेल यही फागुन २६ गतेका दिन हुनेछ ।

Post Comments