News आयोजक सलहेशलाई हेमनारायण गोल्डकपको उपाधि
गोलनेपाल

सिरहा । यहाँ सम्पन्न शहिद हेमनारायण गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक सलहेश युवा क्लब, सिरहाले जितेको छ । बुधबार भएको उपाधि भिडन्तमा सलहेशले राजारानी फुटबल क्लब, धनकुटालाई हराउँदै उपाधि माथि कब्जा जमाउन सफल भएको हो ।

सिरहा बहुमुखी क्याम्पसको खेलमैदानमा भएको फाइनल भिडन्तमा सलहेशले राजारानीमाथि २–१ को जित निकाल्यो र च्याम्पियन बन्यो । विजेता बनेको सलहेशले उपाधिसहित नगद २ लाख ७१ हजार हात पार्यो भने उपविजेता राजारानीले १ लाख ३५ हजारसहित ट्रफी, मेडलमा चित्त बुझाउन बाध्य बन्यो ।

व्यक्तिगत विधातर्फ सलहेशका फोडे फोफना फाइनल खेलको म्यान अफ द म्याच र सर्वाधिक गोलकर्ता बने । राजारानीका राजु नगरकोटी उत्कृष्ट गोलरक्षक चुनिए भने सलहेश कै कुलदिप कार्की प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

सलहेश युवा क्लब, सिरहाको आयोजना, सिरहा नगरपालिकाको विशेष सहयोग तथा सिरहा जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहेको प्रतियोगितामा नेपाल र भारतका गरी कुल १० टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments