News न्यु युथ युनियन कपः राइजिङ क्वाटरफाइनलमा
सुरज राना मगर

तानसेन । संघर्षपुर्ण जितका साथ राइजिङ–११ यहाँ जारी दोस्रो न्यु युथ युनियन कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । राइजिङले आयोजक न्यु युथ युनियन क्लब ए लाई टाईब्रेकरमा हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको हो ।

त्यसअघि तानसेन स्थित टुंडिखेल मैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । टाईब्रेकरमा भने राइजिङले घरेलु टोलीमाथि ५–४ को जित निकाल्दै क्वाटरफाइनल यात्रा तय गर्न सफल भयो ।

खेलमा राइजिङका गोलरक्षक गोविन आले म्यान अफ द म्याच घोषित भए । त्यस्तै चैत ११ र १२ गते पहाडी र तराई होलीका कारण दुई दिन खेल नहुने खेल संयोजक सन्दिप केसीले बताए । चैत १३ गतेको खेल युनाइटेड युथ र भैरव स्पोर्टस क्लबबीच हुने संयोजक केसीले जानकारी दिए ।

न्यु युथ युनियन क्लब, तानसेन, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधी सहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही चैत २४ गतेका दिन हुनेछ ।

Post Comments