News रुपन्देही जिल्ला फुटबल संघको राहत वितरण
सुरज राना मगर

बुटवल । रुपन्देही जिल्ला फुटबल संघले आफू मातहत रहेका फुटबल खेलाडीहरुलाई राहत सहयोग हस्तान्तरण गरेको छ । फुटबल संघले जिल्ला भित्रका ३५ फुटबल खेलाडीहरुलाई जनही २१४२ रुपैयाका दरले राहत उपलब्ध गराएको हो ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोेभिड–१९) का कारण फुटबल जगत ठप्प भएको बेला विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफू मातहतका सदस्य राष्ट्रहरुलाई एक लाख अमेरिकी डलर राहत सहयोग उपलब्ध गराएको थियो ।

सोही सहयोग रकमबाट अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका जिल्ला फुटबल संघहरुलाई जनही ७५ हजारका दरले राहत रकम वितरण गरेको थियो । केन्द्रिय एन्फाबाट प्राप्त सोही रकम जिल्ला फुटबल संघले आफ्ना खेलाडीहरुलाई उपलब्ध गराएको हो ।

राहत सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष तथा एन्फाका केन्द्रिय सदस्य दिर्घ बहादुर केसी (कुमार) ले विपतका बेला स्थानीय खेलाडीहरुलाई थोरै भए पनि आर्थिक राहत सहयोग गनु आफूहरुको जिम्मेवारी रहेको बताए ।

यो महामारीका समयमा अधिकांश फुटबल गतिविधीहरु ठप्प रहेका बेला खेलाडीहरुलाई दैनिकी धान्न कठिन भए तापनि सबैले यो कठिन परिस्थतिको डटेर सामना गर्नुपर्ने अध्यक्ष केसीले आग्रह गरे । साथै स्वस्थ्य दैनिकी र शारीरिक अभ्यासलाई पनि निरन्तरता दिन उनले सबैलाई अनुरोध समेत गरे ।

जिल्ला फुटबल संघका महासचिव लोक पुनको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा संघका उपाध्यक्षद्वय मुकेश कुँवर, भुपेन्द्र बहादुर क्षेत्री (हरि) लगायतले राहत हस्तान्तरण गरेका थिए । सो अवसरमा संघका सचिव शंकर मल्लाह तथा कोषाध्यक्ष गोपीराम पुन लगायतको पनि उपस्थिति रहेको थियो ।

Post Comments