News कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता शुरु
गोलनेपाल

बुइपा । प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेश, बिराटनगरको आयोजना तथा जिल्ला खेलकुद विकास समिति, खोटाङको संयोजनामा बिहीबारदेखि कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता शुरु भएको छ ।

प्रतियोगिताको पहिलो दिन ओखलढुङ्गा, इलाम, ताप्लेजुङ र खोटाङले जित हात पार्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन् । पहिलो प्रिक्वाटरफाइनलतर्फ ओखलढुङ्गाले सोलुखुम्बुलाई १–० ले हरायो । ओखलढुङ्गाका लागि सम्झ माया राईले एक मात्र निर्णायक गोल गरिन् । निर्णायक गोलकर्ता राई नै प्लेयर अफ द म्याच चुनिईन् ।

दोस्रो प्रिक्वाटरफाइनलमा इलामले उदयपुरलाई टाईब्रेकरमा २–० ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ इलामका लागि मनिता तामाङले गोल गरिन् भने उदयपुरका लागि अनिषा राईले गोल गरिन् । खेलमा इलामकी समिक्षा राई प्लेयर अफ द म्याच घोषित भईन् ।

तेस्रो प्रिक्वाटरफाइनलमा ताप्लेजुङले धनकुटालाई १–० ले हरायो । ताप्लेजुङका लागि सुजाता लिम्बुले गोल गरिन् । लिम्बु नै खेलको प्लेयर अफ द म्याच समेत घोषित भईन् ।

त्यस्तै चौथो क्वाटरफाइनलमा घरेलु टोली खोटाङले सुनसरीलाई टाईब्रेकरमा ४–३ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ खोटाङका लागि सजना राईले गोल गरिन् भने सुनसरीका लागि योगिता निरौलाले गोल गरिन् । खेलमा खोटाङकी सजना राई प्लेयर अफ द म्याच चुनिईन् ।

त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच प्रमुख अतिथी कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाच कर्ण राईले गरेका थिए । यही असार २५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ ।

 

Post Comments