News एन्फाद्वारा राष्ट्रिय टोलीका सबै खेलाडीहरु फुकुवा
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीका लागि प्रारम्भिक छनौटमा परेका ३४ खेलाडीहरुलाई फुकुवा गरेको छ ।

सरकारले लकडाउन खुला गरेपछि एन्फाले फिफा विश्वकप छनौट तथा एएफसी एसियन कप छनौटका लागि खेलाडीहरुलाई भदौबाट प्रशिक्षणमा लैजाने योजना बनाएको थियो ।

यद्यपि विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ महामारीका कारण छनौट प्रतियोगिता सञ्चालन गर्न तत्काल कठिन भएको जनाउँदै फिफा र एएफसीले छनौट प्रतियोगिताहरु आगामी बर्षसम्मका लागि स्थगित गरेको थियो ।

अब यहि अक्टुबर र नोभेम्बरका दिन हुने भनिएको छनौट प्रतियोगिताहरुको नयाँ मिति फिफा र एएफसीले अवस्था हेरेर छिटै घोषणा गर्ने बताएको छ ।

स्मरण रहोस, नेपालले छनौट प्रतियोगितातर्फ घरेलु मैदान मै अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेईसँग खेल्न बाँकी छ । नेपालले अभ्यास प्रशिक्षणका लागि नेपाल आर्मीको मुख्यालयमा रहेको मैदानलाई प्रयोग गर्ने यसअघि नै बताइसकेको थियो ।

फिफा विश्वकप छनौटतर्फ नेपालको सम्भावना समाप्त भइसके तापनि सन् २०२३ मा हुने एएफसी एसियन कप छनौटका लागि नेपालको सम्भावना अझै कायमै छ ।

 

Post Comments