चितवन । हानामी भरतपुर फुटबल क्लब (बिएफसी) र पानस युवा क्लब सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बुधबार समूह ए को अन्तिम दुई खेल सम्पन्न भएसँगै बिएफसी र पानसले सेमिफाइनलमा स्थान बनाएको हो । लिगको ६ खेलमा ५ जित र एक हार व्यहोरेको बिएफसी १३ अंक भएको छ । उता पानस समान खेलमा ४ जित, एक हार र एक बराबरीसहित १३ अंकका साथ नै सेमिफाइनलमा स्थान बनाएको छ ।
शारदानगरमा भएको पहिलो खेलमा बिएफसीले गीतानगर ब्वाईजलाई ५-० को फराकिलो अन्तरले पराजित गर्यो । जित्नै पर्ने खेलमा बिएफसीलाई जिताउन सन्दीप केसीले ३२ र ६७ औं, सन्देश श्रेष्ठले ३५ तथा ५४ औं र सुमन आलेले २५ औं मिनेटमा गोल गरे । बिएफसीका सदीप केसी म्यान अफ दि म्याच भए ।
उता सम्पन्न दोस्रो खेलमा पानसले एष्ट्रल युथ सोसाइटीलाई बराबरीमा रोक्दै अंक खोस्यो । सेमिफाइनलमा स्थान बनाउन पानसलाई कम्तिमा एक अंक आवश्यक थियो । उता एष्ट्रललाई भने स्पष्ट ३ अंक आवश्यक थियो ।
खेलमा अग्रता एष्ट्रलले लिएको थियो । खेलको ५७ औं मिनेटमा अश्विन लो तमाङले पेनाल्टीमा गोल गर्दै एष्ट्रललाई अग्रता दिलाएका थिए । तर उसले त्यो अग्रता जोगाउन सकेन । ६९ औं मिनेटमा पानसका शिव गुरुङले बराबरी गोल गरे । उक्त गोल नै पानसलाई सेमिफाइनलमा स्थान बनाउन पर्याप्त भयो ।