शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकामा आयोजित १४ वर्षमुनिको फुटबल प्रतियोगिताको फाइनल खेल स्थगित भएको छ । उमेर समूहलाई लिएर एकपछि अर्को विवाद आएपछि फाइनल खेल स्थगित भएको हो ।
अर्जुनधारा १० नम्बर वडा खेलकुदु विकास समितिको आयोजनामा भएको प्रतियोगिताको आज हुने भनिएको फाइनल खेल तोकिएको उमेरभन्दा बढीका खेलाडी सहभागी गराइएको भन्दै विवाद सिर्जना भएको थियो ।
विवाद आएपछि आयोजक समितिले एक छानविन समिति निर्माण गरी अर्को निर्णय नआउञ्जेलसम्म फाइनल खेल स्थगित गरेको जनाएको छ ।
समितिले अर्जुनधारा १० का वडाध्यक्ष भुपेन्द्र न्यौपानेको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको छ । जसमा भोलानाथ गौतम, निशा तामाङ, सुमन नेम्बाङ र देवी सुनुवार सदस्यमा छन् ।
पहिलो सेमिफाइनल खेलमा सालबारीविरुद्ध सेतीपानीले २-१ गोलअन्तरले जित दर्ता गरेको थियो । तर, सालबारीले सेतीपानीका उमेर बढी भएका खेलाडीविरुद्ध विरोध पत्र दर्ता गरेको थियो ।
फेरि सेतीपानीले पनि सालबारीका खेलाडीविरुद्ध विरोध पत्र दर्ता गरेपछि छिनोफानोका लागि आयोजकले दुवै टिमलाई पुनः खेल खेलाउने निर्णय गरेको थियो । तर, सालबारीले पुनः खेल नखेल्ने भन्दै मैदान छाडेको थियो ।
सालबारीले फाइनल खेल खेल्न पाउनुपर्ने अडान राखेपछि आयोजकले सेतीपानीलाई फाइनल खेल खेल्नका लागि घोषणा गर्यो । सेतीपानीले पनि फाइनल खेल्न उपाधिको दाबेदार गोलधापसँग तयार भयो ।
तर, फेरि उमेर बढी भएको भन्दै सेतीपानीविरुद्ध गोलधापले र गाेलधापविरूद्ध सेतीपानीले एक अर्काले आयोजकसमक्ष मौखिक उजुरी गर्दा खेल सुरु नभइ भाँडिएको थियो । दुवै टोलीलाई आयोजकले सम्झाए पनि गोलधापले स्वीकार्न सकेन ।
सालबारीले विरोध गरेका खेलाडीलाई नै सेतीपानीले खेलाउन लागेकाले आयोजकको आग्रह स्वीकार्न नसकिएको गोलधापका अफिसियलको भनाइ थियो । अन्ततः गोलधापले पनि मैदान छाडेपछि आयोजकले छानविन समिति गठन गरेको हो ।