काठमाडौँ । दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।
काठमाडौँ महानगरपालिका वडा नं २३ को आयोजनामा असाज १ देखि ९ गतेसम्म लैनचौर फुटसल मैदानमा प्रतियोगिता हुँदैछ । सो प्रतियोगितामा काठमाडौँ महानगरपालिका केन्द्रसहित ३१ वडाको सहभागिता रहनेछ । उद्घाटन खेल काठमडौँ महानगरपालिका र आयोजक २३ वडा बीच हुनेछ ।
आयोजक वडा नं २३ का अध्यक्ष मचाराजा महर्जनले पत्रकार सम्मेलनमा नेपालमा फुटसलको व्यवसायिक प्रवद्र्धनमा योगदान गर्न र यसको माध्यमबाट खेलप्रति आम नागरिक र युवा वर्गलाई प्रेरित गराउन वडा स्तरबाटै यो फुटबल प्रतियोगितको आयोजना गर्न लागेको जानकारी दिए ।
नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । त्यसैगरी, विधागततर्फ उत्कृष्ट हुने सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकलाई जनही दस हजार प्रदान गरिने पनि आयोजकले जानकारी दियो ।
प्रतियोगितालाई सफल पार्न वडा सदस्य गोलपाल नापितको संयोजकत्वमा सदस्यहरु राजेश मास्के, हरिओम श्रेष्ठ, प्रज्वल शाक्य र रामबहादुर रम्बा रजक रहेको मूल समिति गठन गरिएको छ । यस प्रतियोगिताको अनुमानित बजेट २० लाख रुपियाँ रहेको छ ।
यसैगरी कार्यक्रममा वडा न २३ को टिमलाई जर्सी हस्तान्तरण पनि गरिएको थियो ।
स्टार हस्पिटलसँग सहकार्य
आयोजक वडा नं २३ र स्टार हस्पिटलबिच प्रतियोगिताको मेडिकल साझेदारको सम्झौता पनि भएको छ । वडा नं २३ का अध्यक्ष मचाराजा महर्जन र स्टार हस्पिटलका अध्यक्ष किशोर महर्जनले सम्झौतापत्र आदानप्रदान गरे ।
अध्यक्ष महर्जनले खेल मैदानमा मेडिकल टिमको उपस्थितिले ठूलो प्रभाव पार्ने बताए । उनले स्टार हस्पिटल चालू एन्फा महिला लिगमा पनि मेडिकल पार्टनरको भूमिकामा रहेको र साफ यु–२०, यु–१८ च्याम्पियनसिपमा पनि मेडिकल साझेदारको रुपमा रहेको जानकारी दिए ।