चितवन । मोफसलमा रहेर पनि फुटबलसँगै विभिन्न सामाजिक गतिविधिमा समेत सक्रिय पटिहानी फुटबल क्लबको अध्यक्षमा पुनः पोष्टराज तिमिल्सिना चयन भएका छन्।
क्लबको पहिलो साधारण सभा तथा अधिवेशनले तिमिल्सिनाको नेतृत्वमा सुमन पौडेल महासचिव र सुमन सापकोटा कोषाध्यक्ष रहने गरेर ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
साधारण सभाको अवसरमा क्लबले आफ्नो टिमको नयाँ जर्सी पनि अनावरण गरेको थियो।
कार्यक्रममा भरतपुर वडा नम्बर १४ का अध्यक्ष राजेन्द्र साँखी र भरतपुर वडा नम्बर २२ का अध्यक्ष विष्णुराज महतोले क्लबले यस क्षेत्रको खेलकुदमा पुर्याएको योगदानको प्रशंसा गरेका थिए।
वर्ष २०७७ मा स्थापना भएको पटिहानी फुटबल क्लबले चितवनमा विद्यालय तहको खेलकुद संस्कृतीको विकासको जग निमार्ण तथा समुदायमा प्रशिक्षक विकासमा योगदान पुर्याउँदै आएको छ।
क्लबले खेल प्रशिक्षक प्रशिक्षण तालिम, सामुदायिक विद्यालयको सहभागितामा ‘पिएफसी इमर्जिङ कप’ र नयाँ खेलाडी उत्पादनका लागि विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
नयाँ कार्यसमितिले आगामी दिनमा फुटबल खेलको विकासका लागि ग्रासरुट फुटबल कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ।