News फुटबलर कार्कीको उपचार खर्च समर्थकहरुले नै ब्यहोरे, स्वास्थ्य स्थिति पनि सुधारोन्मुख
गोलनेपाल

काठमाडौं । गत साता सवारी दुर्घट्नामा परि गम्भिर घाइते भएका फुटबल खेलाडी लोकेन्द्र कार्कीको उपचार खर्च नेपाली फुटबल समर्थकहरुले व्यहोरेका छन् ।

मोटरसाइकल दुर्घट्नामा परेर घाइते भएका कार्कीलाई बिरगंज स्थित बयोध नारायणी अस्पतालमा भर्ना गरिएको थियो । हाल उपचार कै क्रममा रहेका र उनको स्वास्थ्य स्थितिमा सुधार आउन थालेपछि कार्कीलाई आइसीयुबाट जनरल वार्डमा सारिएको छ ।

कार्कीको उपचार खर्चमा सहयोग गर्ने क्रममा अमेरिकाबाट प्रमोज अधिकारी र उनका साथीहरुले पनि महत्वपूर्ण भूमिका खेलेका छन् । हाल अमेरिकामा रहेका अधिकारीले त्यहाँका नेपाली फुटबल समर्थक साथीहरुसँग मिलेर ७७,५४७ रुपैयाँ सहयोग गरेका थिए । त्यति मात्र नभएर अधिकारीले फेरि ७६,९२७ रुपैयाँ फुटबलर कार्कीको उपचारमा सहयोग थप गरेका छन् ।

खेलाडी साथीभाईहरु माफ ठूले दाईको उपनामले परिचित कार्कीलाई यसअघि उनको पूर्व क्लब रानीपोखरी कर्नर टिम (आरसिटी) ले पनि ५० हजार सहयोग गरेको थियो । स्मरण रहोस, कार्कीले दुई बर्ष अघि आरसिटी कै लागि शहिद स्मारक बी डिभिजन लिग खेलेका थिए ।

कार्कीको उपचारमा अन्य सहयोगीदाताहरुले पनि आर्थिक सहयोग गर्दै आइरहेका छन् । उता कार्कीका पिता लेख बहादुर कार्कीले पनि छोराको उपचारमा सहयोग गर्ने सबैमा धन्यवाद दिए ।

लोकेन्द्रको परिवारले जनाएअनुसार उनी फेरि मैदानमा फर्किन केही समय लाग्ने डाक्टरले बताएका छन् । साथै उनले आफ्नो स्वास्थ्यका लागि रिह्याब गर्नुपर्ने पनि चिकित्सकले सुझाव दिएको कार्की परिवारले बताएको छ ।

Post Comments