
कर्जन्हा । रोमाञ्चक जितका साथ झापा फुटबल क्लब, झापा यहाँ जारी तेस्रो कार्तिकेय कुमार गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको दोस्रो सेमिफाइनलतर्फ झापाले बिरगंज युनाइटेड, पर्सालाई २–१ ले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो । झापाको जितमा दुवै गोल समिराज थोकरले गरे । पराजित बिरगंजका लागि भने युवराज खड्काले गोल फर्काएका थिए ।
खेलमा झापाका लागि निर्णायक बनेका समिराज थोकर म्यान अफ दि म्याच चुनिए । त्यसवापत उनले नगद २१०० र ट्रफी, हात पारे । झापाले अब यही मंसिर ६ गते हुने फाइनलमा बिराटनगर सिटी फुटबल क्लब, मोरङसँग उपाधिका लागि भिड्नेछ ।
कर्जन्हा नगरपालिका शिक्षा तथा खेलकुद शाखाको आयोजना एवम् बन्दीपुर युथ क्लब, कर्जन्हा, सिराहाको सह–आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,५१,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५१,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।