News टरिगाउँ चौथो हिरा डाँगी कपको फाइनलमा
गोलनेपाल

तुलसीपुर । टरिगाउँ युवा क्लब, तुलसीपुर यहाँ जारी चौथो हिरा डाँगी कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार सम्पन्न पहिलो सेमिफाइनलमा टरिगाउँले साविक विजेता राईजिङ स्टार युवा क्लब, घोराहीलाई पेनाल्टी शुटआउटमा हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो ।

त्यसअघि अरनिको खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । पेनाल्टी शुटआउटमा भने टरिगाउँले राईजिङ स्टारमाथि ५–४ को जित निकाल्दै फाइनल यात्रा तय गर्यो ।

खेलमा टरिगाउँका गोलरक्षक बिशाल केसी म्यान अफ दि म्याच चुनिए । प्रतियोगिता अन्तर्गत मंसिर ७ गते शुक्रबारको दोस्रो सेमिफाइनल खेल ब्रिगेड ब्वाईज क्लब, काठमाडौं र युएनबिसी, घोराही, दाङ भिड्ने आयोजकले जानकारी दियो ।

हिरा डाँगी फाउण्डेशन, तुलसीपुर, दाङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०२,२०० हात पार्नेछ भने उपविजेताले १,०१,१०० रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही मंसिर ८ गतेका दिन हुनेछ ।

Post Comments