
कर्जन्हा । साँघुरो अन्तरको जित निकाल्दै यहाँ सम्पन्न तेस्रो कार्तिकेय कुमार गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको उपाधि बिराटनगर सिटी फुटबल क्लब, मोरङले जितेको छ ।
बिहीबार सम्पन्न फाइनलमा बिराटनगरले अर्को पुर्वेली टोली झापा फुटबल क्लब, झापालाई शून्यका विरुद्ध १ गोलले हराउँदै उपाधि उचाल्न सफल भएको हो । बिराटनगरको जितमा ग्लोरी जोनासले एक मात्र निर्णायक गोल गरे ।
विजेता बनेको बिराटनगर सिटीले उपाधिसहित नगद २,५१,५५५ रुपैयाँ हात पार्यो भने उपविजेता बनेको झापाले १,५१,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
बिराटनगरका श्याम चौधरी फाइनल खेलको म्यान अफ दि म्याच चुनिए । त्यस्तै अन्य विधागतर्फ उत्कृष्ट गोलरक्षक बिराटनगर कै बिराटनगरका प्रमिजय गच्छदार बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार पनि बिराटनगर कै ग्लोरी जोनासले हात पारे । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बिराटनगर कै निमेस फुयाल घोषित भए ।
विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी कर्जन्हा नगरपालिका, सिराहाका नगर प्रमुख भोला पोखरेल र उपप्रमुख लक्ष्मी कुमारी श्रेष्ठ लगायतले पुरस्कृत गरेका थिए ।
कर्जन्हा नगरपालिका शिक्षा तथा खेलकुद शाखाको आयोजना एवम् बन्दीपुर युथ क्लब, कर्जन्हा, सिराहाको सह–आयोजनामा सम्पन्न भएको प्रतियोगितामा कुल आठ टोलीहरुले सहभागिता जनाएका थिए ।