
झापामा पहिलोपटक सहभागिता जनाएको सिरहाको सलहेश युवा क्लब यहाँ जारी झापा कप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
उपाधिको दाबेदार मानिएको त्रिभुवन आर्मी फुटबल क्लबलाई रोक्दै सिरहाले अन्तिम चारमा स्थान बनाएको हो । आर्मी भने क्वार्टरफाइनल खेलबाटै बाहिरिएको छ । सिरहासँग २-० गोलअन्तरले पराजित हुँदै आर्मी खेलबाट बाहिरिएको हो ।
सलहेशले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । सलहेशको जितमा अभि लामा र आदित्य शाक्यले गोल गरे । खेलको १८औँ मिनेटमा अभि लामाले गोल गर्दै सलहेशलाई १–० को स्थितिमा पु¥याए । मैदानको मध्यभागबाट लामाले गरेको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले बचाउ गर्न सकेनन् । कुथु लडेको अवस्थामा मैदानमा ड्रप भएर बलले जाली चुमेको थियो । सलहेशको लागि दोस्रो गोल आदित्य शाक्यले गरे । आर्मीका दुईजना डिफेन्डरले क्लियर गर्न नसकेको बललाई शाक्यले गोलकिपर कुथुलाई बिट गर्दै सुन्दर गोल गरेका थिए । खेलको ३७औँ मिनेटमा सलहेशका ग्लोरीले डिबक्सबाट गरेको शक्तिशाली प्रहार दायाँ पोलमा लागेर बाहिरिएपछि खेलमा थप गोल गर्ने अवसरबाट बञ्चित भएको थियो । आर्मीले खेलमा बल पोजिसन राखे पनि स्कोर भने निकाल्न सकेन । आर्मीका निरज भुजेलले विपक्षी डिबक्समा पाएको बल सदुपयोग गर्न सकेनन् । यस्तै, आयुष तिमिल्सिनाले गरेको हेडर विफल हुँदा आर्मीका समर्थक निराश भएका थिए ।
खेल अनुशासन उल्लंघन गरेको भन्दै रेफ्री श्याम दनुवारले आर्मीका कप्तान भरत खवासलाई खेल सकिएपछि रातो कार्ड दिएका थिए । खेलको प्लेयर अफ द म्याच सलहेशका अभि लामा घोषित भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए ।
मंगलबारको दोस्रो क्वार्टरफाइनल खेल भारतको जिटिए दार्जिलिङ र राष्ट्रिय जागृति क्लब इटहरीबीच हुनेछ । प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ । विजेताले नगद १० लाख तथा उपजिेताले नगद ५ लाख पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए । प्रत्येक खेलको प्लेयर अफ द म्याचले १० हजार नगद पाउनेछन् ।
प्रतियोगिताको उच्च गोलकर्ता एकजना तथा उत्कृष्ट गोलकिप्पर एकजनालाई ३५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । त्यस्तै, प्रतियोगिताको एक उदीयमान खेलाडीलाई झापा ट्यालेन्ट घोषणा गरेर नगद ३५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट एकजना खेलाडीलाई मस्ट भ्यालुएवल खेलाडी घोषित गरेर नगद १ लाख रुपैयाँ प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।