
बेसीशहर । शुक्रबारदेखि शुरु भएको मोफसलको पुरानो र प्रतिष्ठित मध्ये एक ३२र्आैं त्रिवेणी कप राष्ट्रिय फुटबल प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले विजयी शुरुवात गरेको छ ।
त्रिवेणी रंगशालामा भएको उद्घाटन खेलमा आर्मीले लग्दीदेवी युथ क्लब, नाल्मालाई शून्यका विरुद्ध २ गोलले हराउँदै विजयी शुरुवात गरेको हो । आर्मीको जितमा ५६औं मिनटमा अनिल बोमजनले पहिलो गोल गरे भने ६२औं मिनटमा नरेश खत्रीले दोस्रो गोल गर्दै विभागीय टोलीको जित पक्का गरे ।
यो जितसँगै आर्मी क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत पुष १३ गते शनिबार दुई खेलहरु हुनेछन् । १०ः३० बजे हुने पहिलो खेलमा साविक विजेता लालीगुराँस युथ क्लब, भुजुङ र मच्छिन्द्र फुटबल क्लब भिड्ने छन् भने दोस्रो खेलमा टोखा भगवती युथ क्लब, काठमाडौं र ठडाराई अधिकार समाज, लमजुङ बीच हुने आयोजकले जानकारी दियो ।
त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेष बहादुर पौडेलले गरेका थिए । सो अवसरमा बेसीशहर नगरपालिकाका नगर प्रमुख गुमानसिंह अर्याल लगायतको पनि उपस्थिति रहेको थियो ।
त्रिवेणी युवा क्लब, बेसीशहर, लमजुङको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख हात पार्नेछ भने उपविजेताले ६ लाख प्राप्त गर्नेछ । त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीहरुलाई जनही २–२ लाख प्रदान गरिने पनि आयोजकले जानकारी दियो ।