
बेसीशहर । मच्छिन्द्र फुटबल क्लब, काठमाडौं र श्री भगवती फुटबल क्लब, टोखा यहाँ जारी ३२औं त्रिवेणी कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
शनिबार भएको प्रिक्वाटरफाइनलतर्फ मच्छिन्द्रले साविक विजेता लालीगुराँस युथ क्लब, भुजुङलाई सडन डेथमा ६–५ ले हराउँदै अन्तिम आठमा स्थान बनाएको हो । त्यसअघि त्रिवेणी रंगशालामा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
खेलको ३०औं मिनटमा ग्लोरीले लालीगुराँसका लागि शुरुवाती गोल गरे तापनि त्यो अग्रता टोलीले जोगाउन सकेन । खेलको ६६औं मिनटमा अनिल रानाले मच्छिन्द्रका लागि बराबरी गोल फर्काएका थिए । पेनाल्टी शुटआउटमा भने मच्छिन्द्रले नतिजा आफ्नो पक्षमा पार्यो ।
दिनको दोस्रो खेलमा श्री भगवतीले ठाडाराई अधिकारी समाज, दिहीथोकलाई २–१ ले हरायो । खेल शुरु भएको पहिलो मिनट मै अभेख रिचार्डले श्री भगवतीका लागि पहिलो गोल गरेका थिए । तर लगतै ठाडाराई अधिकारी समाजका लागि हेनरीले बराबरी गोल फर्काएका थिए । खेल रोमाञ्चक मोडतर्फ लम्किरहेका बेला ५७औं मिनटमा निशान्त माझीले श्री भगवतीका लागि दोस्रो तथा निर्णायक गोल गर्दै टोलीको जित पक्का गरेका थिए ।
त्रिवेणी युवा क्लब, बेसीशहर, लमजुङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख हात पार्नेछ भने उपविजेताले ६ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही पुष २० गतेका दिन हुनेछ ।