
चितवन । सेन्ट्रल कलेज तेस्रो बखान च्याम्पियनसिप कप फुटबलको उपाधि पटिहानी एफसीले जितेको छ । आज सम्पन्न उपाधि भिडन्तमा सूर्यपुर एफसीलाई हराउँदै पटिहानी च्याम्पियन बनेको हो ।
बखान मिनी रगंशालामा भएको प्रतिस्पर्धात्मक खेलमा पटिहानी टाइब्रेकरमा ५-३ ले विजयी भयो । पहिलो पटक फाइनल पुगेको पटिहानीले पहिलो पटकमा नै उपाधि चुमेको हो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि भएको टाइब्रेकरमा पटिहानीका गोलरक्षक कुमार खुलाल गुरुङ नायक बने । उनले सूर्यपुरको एक प्रहार बचाए । टाइब्रेकरमा हिरो बनेका कुमार प्लेयर अफ दि म्याच बने ।
विजेता पटिहानीले ट्रफीसहित चार लाख प्राप्त गरेको छ । उपविजेता सूर्यपुरले दुई लाख प्राप्त गरेको छ । पटिहानीका रोशन क्षेत्री प्रतियोगिताभरको उत्कृष्ट खेलाडी तथा प्रतियोगिताभर चार गोल गरेका श्री शारदा युथ क्लब शारदानगरका मन्नु कुमाल सर्वाधिक गोलकर्ता भए । उनीहरुले जनही दश-दश हजार रुपैँया प्राप्त गरे ।