
ढुङ्गेसाँगु । ताप्लेजुङ जिल्लाको मैवाखोला गाउँपालिका वडा नं.२ ढुङ्गेसाँगुमा अवस्थित ठोट्ने शिङ्घराज मनरानि आधारभुत विद्यालयको खेलमैदानमा लालिमा क्लबको आयोजनामा जारी दोस्रो आमन्त्रित लालिमा रनिङ कप बिहीबार सुरु भएसँगै शनिबार अन्तिम दुई क्वाटरफाईनल खेल सम्पन्न भएका छन् ।
शनिबार पहिलो खेल म्याङ्लुङ स्पोर्टिङ्ग क्लव तेह्रथुम र बि सि एस सावादेन् ताप्लेजुङ त्यस्तै दोस्रो खेल कुम्मायक स्पोर्टिङ्ग पाँचथर र श्री चाँगे माछापोखरी हिटी क्लब आठराई त्रिवेणी ताप्लेजुङबिच सम्पन्न भएको छ ।
म्याङ्लुङ स्पोर्टिङ्ग तेह्रथुमले बि सि एस सावदेनलाई तीन शून्यले हराउँदा कुम्मायक स्पोर्टिङ्गले माछापोखरी हिटी क्लबलाई एक गोलका विरुद्ध चार गोल गर्दै सेमीफाइनल प्रवेश गरेका हुन् ।
म्याङलुङ्गलाई जीत दिलाउन डिम्पल भन्डारीले पहिलो गोल गर्दा कृष्न राईले दुई गोल गरेका हुन् । उक्त खेलको म्यान अफ दि म्याच डिम्पल भन्डारी बन्दा नगद रु.दुई हजार प्राप्त गरेका छन् ।
कुम्मायक स्पोर्टिङ्ग पाँचथरलाई जीत दिलाउने क्रममा लोकेन्द्र थापाले दुई र सुशिल लावतीले समान दुई गोल गरका थिए । माछापोखरी हिटी क्लवले एक गोल गरेतापनि हार टार्न असमर्थ बनेका छन्। उक्त खेलको म्यान अफ दि म्याच पाँचथरका लोकेन्द्र थापा बन्दै नगद दुई हजार रुपैयाँ प्राप्त गरे।
आइतबार सेमीफाइनल खेल हुनेछन् , जसमा पहिलो खेल लालिमा क्लब ताप्लेजुङ र म्याङ्लुङ स्पोर्टिङ्ग तेह्रथुम भिड्नेछन् भने, दोस्रो खेलमा प्रगतिशील युवा क्लब ताप्लेजुङ र कुम्मायक स्पोर्टिङ्ग पाँचथर भिड्ने तय भएको छ ।
नेपाली नयाँ वर्षको अवसरमा आयोजित पुरुष फुटबल प्रतियोगीता बैशाख ८ गते सोमबार सम्म चल्ने छ । यस प्रतियोगितामा ताप्लेजुङ, संखुवासभा,पाँचथर,तेह्रथुम र सुनसरीका गरी जम्मा आठ टोलीहरुलाई आमन्त्रण गरिएको छ ।