Province 1 थ्री स्टारलाई पेनाल्टी सुटआउटमा हराउँदै झापा सेमिफाइनलमा
गोलनेपाल

पथरी । तेस्रो पथरी शनिश्चरे गोल्ड कप फुटबल प्रतियोगिताको आज सम्पन्न तेस्रो क्वार्टरफाइनल खेलमा झापा एफसीले थ्री स्टार क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

पथरी शनिश्चरेस्थित पथरी रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा झापाले पहिलो हाफमै प्रताप राईको गोलमार्फत अग्रता बनाएको थियो। पहिलो हाफमा १–० को अग्रता बनाएको झापाविरुद्ध दोस्रो हाफमा थ्री स्टारले उत्कृष्ट पुनरागमन गर्‍यो।

दोस्रो हाफमा सागर तिवारीको क्रसमा मिलन चाम्लिङ राईले गोल गर्दै थ्री स्टारलाई खेलमा फर्काए। त्यसपछि सब्स्टिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेका कृष्णल थापाले उत्कृष्ट फिनिसिङ गर्दै थ्री स्टारलाई २–१ को अग्रता दिलाए।

तर थ्री स्टारले आफ्नो अग्रता जोगाउन सकेन। मिलन चाम्लिङ राई इन्जुरीका कारण मैदानबाट बाहिरिएपछि झापाका रोमन भुजेलले बराबरी गोल गर्दै खेललाई २–२ को अवस्थामा पुर्‍याए।

निर्धारित ९० मिनेटमा थप गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टी सुटआउटमा झापाले थ्री स्टारलाई ४–३ ले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गर्‍यो।

झापाका गोलरक्षक योगेश धिमाल खेलको प्लेयर अफ द म्याच घोषित भए। उनले पेनाल्टी सुटआउटमा थ्री स्टारका दुई प्रहार रोक्दै झापाको जितमा महत्वपूर्ण भूमिका निर्वाह गरे।

प्रतियोगिताअन्तर्गत भोलि हुने चौथो क्वार्टरफाइनल खेलमा नेपाल पुलिस क्लबले इलामको रेड हर्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

Post Comments